arrow

अदालतमा मुद्दा दर्ता भए आजै रवि साधारण तारेखमा छुट्न सक्ने

रविलाई प्रहरीले सरकारी वकिलको कार्यालय पठायो, आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाण पेश

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
rabi-lamichhane.jpg

काठमाडौं ।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ ।

प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेखमा छोड्न सक्नेछ । साथै धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले  आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिए।

अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए। सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनको भनाइ थियो ।

अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताए । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र  बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उनले भने,“भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।”

 घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको  भनाइ थियो ।

उनले यस मुद्दामा तीन  प्रतिवादीमाथि लगाइएको दोष फरक फरक देखिएको भन्दै यसको निक्र्यौल अदालतले गर्ने बताए । सरकारी वकिलले  आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । सो कार्यालयमा बिहान १० बजे नै प्रहरीले प्रमाणसहितको फाइल र अभियुक्तलाई पेश गरेको थियो ।

 लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् ।

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसै प्रकारका अन्य छ मुद्दा उक्त अदालत चितवनमा दर्ता भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ