arrow

अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
NP_KTM_.jpg

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हाल स्वास्थ्योपचारका लागि सिङ्गापुरमा छन्। नेपालको इतिहासमै आज उनले विदेशमा बसेर भिडियो कन्फरेन्समार्फत पहिलो पटक मन्त्रिपरिषद् बैठक आयोजना गरिरहेका छन्।  सम्बन्धित व्यक्तिले दिएको स्पष्टीकरण पार्टीलाई चित्त नबुझे आवश्यक कारवाही गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा पार्टीभित्रको अनुशासन खस्कँदै गएको भन्दै पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गरिने सङ्केत गरेका थिए। पछिल्लो समय नेकपाका केही जिम्मेवार नेता, कार्यकर्ता सार्वजनिक रुपमै पार्टी र नेतृत्वका विरुद्धमा अनावश्यक टीकाटिप्पणीमा उत्रिएपछि बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “पार्टीका नेता, कार्यकर्ता वा अन्य कुनै सदस्यका बारेमा पार्टीका तलदेखि माथिसम्मका जिम्मेवार व्यक्तिले कुनै विषय व्यक्तिगत रुपमा उठाउनु परेमा त्यसलाई पार्टीभित्र तथ्यसम्मत ढङ्गले वा आफूलाई लागेको विषय उठाउनुपर्ने छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ