arrow

बाबुराम र विप्लवको पार्टी त्यागेका चार जना नेकपाको केन्द्रीय सदस्यमा मनोनित

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको बैठकले नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द समूहबाट नेकपामा प्रवेश गरेकामध्ये चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । मनोनित हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण छन् ।

पराजुली र धमला  बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी  परित्याग गरी नेकपा प्रवेश गरेका थिए । त्यस्तै राईद्वय चन्दसमूहबाट नेकपा प्रवेश गरेका हुन् । पार्टी एकता प्रक्रियामा सामेल भएकामध्येबाट १० प्रतिशतसम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधानबमोजिम उनिहरुलाई केन्द्रीय सदस्यमा मनोयन गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको छ । बैठकले राष्ट्रिय सुरक्षा विभागका प्रमुखमा भानुभक्त ढकाल र  उपप्रमुखमा रामकुमार राईलाई तोकेको छ । यसअघि उपप्रमुख राईलाई खोटाङको सहइञ्चार्जको जिम्मेवारी दिइएको थियो ।

विदेश मामिला विभागका उपप्रमुखमा विष्णु रिजाललाई थप गरिएको छ । नीति, अनुसन्धान प्रतिष्ठानका सहसंयोजकमा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ । हमाल यसअघि ललितपुरको सहइञ्चार्जको भूमिकामा थिए ।

प्रादेशिक मामिला विभागका उपप्रमुखमा डोरमणि पौडेललाई चयन गरिएको छ । सहकारी तथा गरीबी निवारण विभागका उपप्रमुखमा कमल चौलागाईंलाई तोकिएको छ । यसअघि सहकारी विभागमा धर्मदत्त देवकोटा थिए । उनलाई सहकारी विभागबाट हटाइएको छ ।

यस्तै कर्णाली प्रदेश सम्पर्क कमिटी इञ्चार्जको जिम्मेवारी सत्य पहाडीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका इञ्चार्जमा वीरमान चौधरीलाई जिम्मेवारी दिइएको छ । चौधरी कैलालीको सहइञ्चार्जको भूमिकामा थिए ।

बैठकले जनवर्गीय सङ्गठनका सहइन्चार्जमा नयाँ व्यवस्था गरिएको छ । अखिल नेपाल नेपाल महिला सङ्घका सहइञ्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ । आदिवासी जनजाति महासङ्घ नेपाल र सम्बद्ध सङ्गठनका सहइञ्चार्जमा सुरेश आले मगर र शेरबहादुर तामाङलाई थप गरिएको छ ।

यसैगरी नेपाल दलितमुक्ति सङ्गठनका सहइञ्चार्जमा तिलक परियार र बोमलाल विश्वकर्मालाई थप गरिएको छ । त्यस्तै प्रेस सङ्गठन नेपालका सहइञ्चार्जमा महेश्वर दाहाललाई थप गरिएको छ ।

जनसाँस्कृतिक महासङ्घ नेपाल र सम्बद्ध सङ्गठनका इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्जमा खगेन्द्र राई, खेलकूद महासङ्घ नेपालका सहइञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङ्वाङ राई तथा  प्रोगेसिभ इञ्जिनीयरिङ एशोसिएशनका सहइञ्चार्जमा रामकुमारी झाँक्री र शिक्षकसम्बद्ध सङ्गठनको सहइञ्चार्जमा हिम्मत कार्कीलाई तोकिएको छ ।

बैठकले जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी पनि हेरफेर गरेको छ । पर्साका इञ्चार्जमा रामचन्द्र साह तेली र कास्कीका सहइञ्चार्जमा चूडामणि जङ्गलीलाई तोकिएको छ । जङ्गली यसअघि गोरखाका सहइञ्चार्ज थिए । कैलालीका सहइञ्चार्जमा दीपक देवकोटा, ताप्लेजुङका सहइञ्चार्जमा तीलकुमार मेयाङ्बो, सुनसरीका सहइञ्चार्जमा भगवती चौधरी र  सिरहाका सहइञ्चार्जमा प्रमोदकुमार यादवलाई तोकिएको छ ।

पार्टीको अर्को बैठकले अन्य निकायका इञ्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउने उनले बताए । प्रवास कमिटीका सम्बन्धमा स्पष्ट निर्देशिकासहित अर्को बैठकले निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र आयोगका बारेमा पनि आगामी बैठकबाट निर्णय प्रक्रिया अगाडि बढाइने उनले बताए ।

बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, कावा प्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, रामबहादुर थापा र प्रवक्ता  नारायणकाजी श्रेष्ठ सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ