arrow

'बौद्ध धर्मलाई नै समाप्त गर्न धर्मगुरु रेम्पोर्छेलाई नक्कली धर्मगुरु भनी कुप्रचार'

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
Chiniya_lama.jpg

काठमाडौं । बौद्ध शान्ति अभियान, नेपालले घ्याङ गुठीका संस्थापक चिनियाँ लामाको सन्तानको कुनै अधिकार छैन र बौद्ध स्तुपामा बौद्ध क्षेत्र विकास समितिको एकाधिकार हुनुपर्दछ भन्ने मान्यता बोकेका केही शक्तिहरुले अबैध आर्थिक चलखेल चलाउने र बौद्ध धर्मलाई नै समाप्त गर्ने उद्देश्यले वर्तमान प्रमुख संरक्षक धर्मगुरु रेम्पोर्छे भूपति बज्र लामामाथि नक्कली धर्मगुरु भनी कुप्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

 रिपोर्टर्स क्लब नेपालमा बौद्ध शान्ति अभियान, नेपालले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो स्पष्ट पारेको हो । बौद्ध स्तुपामा एकाधिकार चलाउन खोज्ने शक्ति र समूहहरुले चिनियाँँ लामा पदबाट बर्खास्त गर भन्ने आधारहीन आरोप लगाउँदै ‘बौद्ध बचाऊ, चिनियाँ लामा हटाऔं’ भनि निराधार, कपोकल्पित र झूठो आरोप लगाइरहेको भन्दै त्यसमा पनि अभियानले आपत्ति जनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षक परमपुज्य औतारी धर्मगुरु रेम्पोर्छै चिनियाँ लामा भूपति बज्र लामाले बौद्ध स्तुपाको क्षेत्राधिकारबारे प्रष्ट पारेका थिए । उनले कानूनी रुपमा उच्च अदालतको फैसलाअनुसार श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको स्वामित्वमा सम्पूर्ण अधिकार रहेको व्यहोरा सुनाए ।

तर, उक्त स्तुपामा कानुनी अधिकारमाथि हस्तक्षेप गरेर तामाङ कल्याण गुठीले छ्योमे बत्तिघर तथा तामाङ कल्याण गुठीको भवन बनाएर आफूहरुको  क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको उनले आरोप लगाए । उनले सरकारको स्वामित्वमा रहेको बौद्ध क्षेत्र विकास समितिले पनि आफूहरुको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै नियम नै नभएको कुरामा विदेशी पर्यटकहरुसँग चर्को प्रवेश शुल्क लिने गरेको दाबी गरे । उनकाअनुसार विकास समितिले दैनिक रुपमा न्यूनतम चार लाखदेखि ८ लाखसम्म प्रवेश शुल्क उठाउने गरेको छ ।

कार्यक्रममा अभियानका संयोजक बुद्धराज लामाले प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए । उनले बौद्ध स्तुपामा भैरहेका गलत क्रियाकलापहरुलाई रोक्नको लागि आफूहरु सचेत र पूर्ण प्रतिबद्ध रहेको पनि बताएका थिए ।   कार्यक्रमको सञ्चालन तामाङ तथा बौद्ध धर्मसँग सम्बन्धित ३६ वटा संघसंस्था एवम् गुम्बाका संयोजक तथा तामाङ फाउण्डेशन नेपालका अध्यक्ष अरुण घिसिङले गरेका थिए ।

अभियानले शान्तिपूर्ण मार्गबाट २०७५ जेठ २४ गते उच्च अदालत पाटनको फैसलालाई कार्यावन्यन गर्न÷गराउन दवावमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भन्दै विशेष कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअनुसार प्रथम चरणको कार्यक्रममा  २०७६ भदौँ १३ गतेदेखि असोज १० गतेभित्र प्रदेश नम्बर ३ भित्रको जिल्ला प्रशासन कार्यालयमार्फत नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालई ज्ञापनपत्र बुझाउने रहेको छ ।

त्यस्तै, प्रदेश नं. ३ को प्रदेश सरकारलाई २०७६ कार्तिक १ देखि ८ गतेभित्रमा ज्ञापन पत्र बुझाउने, २०७६ कार्तिक १५ गते देखि २९ गतेभित्रमा केन्द्रिय संघीय सरकारको प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने, २०७६ मंसिर १ गतेदेखि ३० गतेभित्रमा सरोकारवाला विभिन्न संघ–संस्था, राजनितिक, सामाजिक, बुद्धिजिवी, पत्रकार, गुम्बा तथा धार्मिक गुरुहरुसँग व्यापाक अन्तरक्रियात्मक विचार गोष्ठीहरु संचालनको साथै पर्चा, व्यानर, अनलाईन मिडियाबाट व्यापक प्रचारप्रसार गरिने, २०७६ असोज ७ गते दशमीको दिन बौद्ध स्तुपा परिसरभित्र बौद्ध शान्ति पुजाको आयोजना गरिने पनि अभियानले जनाएको छ ।

अभियानले बौद्ध क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीले आफ्नो काम, कर्तव्य तथा कानुनी क्षेत्रधिकार नाघेर श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीमाथि आँखा चिम्लेर प्रहार गर्नुको कारण के हो ? भन्दै प्रश्नसमेत तेर्साएको छ । उसले यो प्रकरणमा छानविन गरि त्यसको सत्य, तथ्य सार्वजनिक गर्दै अराष्ट्रिय तत्वहरुलाई न्यायको कठघरामा उभ्याई बौद्धनाथ क्षेत्र परिसरलाई अविलम्ब निषेधित क्षेत्र घोषणा गर्न पनि नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।

अभियानका संयोजक बुद्धराज लामाको नाममा जारी गरिएको विज्ञप्तीअनुसार  बौद्धनाथ क्षेत्र विकास समितिबाट अदालतको फैसलाको मर्मविपरीत कार्य गरिरहेको आरोप लगाईएको छ । त्यस्तै, बौद्धनाथ क्षेत्र विकास समितिबाट पर्व पूजा अवरोध गर्ने, पुजा सामग्री नष्ट गर्ने, लामा, पुजारी, भिक्षुहरुलाई गालीगलौज गर्ने, राष्ट्रिय, अन्तराष्ट्रिय पाहुना, धर्मगुरुहरुमाथि अपमान गर्ने कार्यहरु गरिरहेको पनि विज्ञप्तीमा दाबी गरिएको छ ।

गुठीका परमपुज्य औतारी धर्मगुरु रिम्पोन्छे भूपति बज्र लामाप्रति विभिन्न लाञ्छाना लगाई कपोल्पित भ्रम सिर्जना गरी पत्राचार साथै पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुमा प्रचार गरी धर्मगुरुप्रति अनास्था फैलाउने कार्य भइरहेको पनि अभियानको अर्को आरोप छ । स्तुपा क्षेत्रभित्र जथाभावी विद्युतीय उपकरण जडान गरिएको, स्तुपा परिसरभित्र गुठीको ताला फोरेर विकास समितिको ताला लगाएको र बौद्ध घ्याङ गुठीका कर्मचारी, सुरक्षाकर्मी, लामा, पुजारी भिक्षुहरुलाई धम्क्याउनेजस्ता गलत काम पनि बौद्धनाथ क्षेत्र विकास समितिबाट भैरहेको अयिभानको गम्भिर आरोप छ ।
त्यस्तै, तामाङ कल्याण गुठीबाट पनि विभिन्न गैरकानूनी कामहरु भैरहेको अभियानको ठोकुवा छ । उसकाअनुसार विश्व सम्पदाको मर्मविपरीत स्तुपाभित्र टहरा बनाई सो टहरामा छ्योमे बत्ती बाल्न दिई आर्थिक चलखेल गरेको र उक्त घरमा केही व्यक्तिले आत्मदाह गरेको अवस्था पनि छ । विज्ञप्तीमा भनिएको छ,‘केही विदेशी नागरिकहरुले शरीरमा आगो लगाई अंगभंग भएको अवस्था छ ।’

त्यस्तै, तामाङ कल्याण गुठीबाट स्तुपा क्षेत्रभित्र टहरा बनाई बत्ती बालेको सम्बन्धमा टहरा हटाउनको लागि पुरातत्व विभागमा पत्रचार गर्दा पनि हटाउने कार्य नभएको, बौद्ध घ्याङ गुठीको फुलबारी बँगौचा कि. नं. १२५ को क्षेत्रफल १–३–२–० जग्गा अतिक्रमण गरी पार्टी प्यालेस र टहरा निर्माण गरेको, हटाउनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्रचार गर्दा पनि हटाउने कार्य नभएको अभियानको दाबी छ ।

उक्त गुठीका अध्यक्ष लगायतका पदाधिकारीले गुठीका धर्मगुरुविरुद्ध लाञ्छाना लगाउने, विभिन्न निकायमा भ्रमपूर्ण पत्राचार गर्ने, डेलिगेसन जानेजस्ता गलत कार्य गरेको साथै पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुमा प्रचार गरी धर्मगुरुप्रति अनास्था फैलाउने कार्य गरेको पनि अभियानको अर्को दाबी छ । धर्मगुरु भूपति बज्र लामाबाट पुजामा समेत रोक लगाइएको भन्ने झुठो आरोप लगाइएको हुँदा धर्म र धर्मगुरुप्रति अनास्था फैलाउने र चरित्रहत्या गर्ने दोषीमाथि कडा कारवाही होस् भनी नेपाल सरकारसमक्ष अभियानले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ