'प्रधानन्यायधीश र सभामुखले भिडियो कन्फ्रेन्स मार्फत अदालत र संसद चलाउन मिल्छ ?'
प्रकाशित २०७६ भदौ १० मंगलबार
372
Shares
काठमाडौं। नेपाली कांग्रेसले सरकारको पछिल्लो क्याबिनेट बैठक प्रति आपत्ति जनाएको छ। टेलीप्रिजेन्स (भिडियो कन्फ्रेन्स) मार्फत क्याबिनेट बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली उपचरार्थ सिंगापुरमा रहेको अवस्थामा उक्त क्याबिनेट बैठक बसेको थियो।
कांग्रेशको प्रश्न थियो – ‘के सम्माननीय सभामुख बिदेश जानु भएको बेला पनि त्यसरी नै बैठक संचालन गर्न मिल्छ ? र सम्माननीय प्रधानन्याधिश बाहिर जानु भएको बेला पनि त्यसरी अदालत चलाउन मिल्छ?’ यो अति संवेदनशील बिषय रहेको र गोपनीयताको समस्या आउन सक्ने संभावना रहेको छ ।
प्रविधीको सदुपयोग भन्दा दुरुपयोग भयो भन्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आपत्ती जनाएका थिए। उनले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
“उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो कार्यविधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ”, उनले भने, “प्रधानमन्त्री स्वदेशमा नभए पनि उनकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन, भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, गोपनियता नरहने र लिएको शपथविपरीत हुन जान्छ।”
प्रमुख सचेतक खाँडले प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने व्यवस्था अनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसदलाई गराईसकेको अवस्थामा फेरि आफैले क्याबिनेटको अध्यक्षता गर्नु र भिडियो कन्फ्रेन्स मार्फत बैठक बस्नुको औचित्य बारे प्रश्न गरेका थिए।
सरकारले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेललाई कार्यवाहाक प्रधानमन्त्रीको कार्यवाहार दिईसकेको छ। प्रमको अनुपस्थितीमा कार्यवाहाक प्रमले बैठक संचालन गर्नु पर्नेमा मन्त्रिपरिषद् सञ्चालन सम्बन्धी संशोधन कार्यविधि परिमार्जन गरिएको थियो।
नेपाली कांग्रेसले सिंगापुरमा उपचरार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ।