काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना शुभचिन्तकहरुलाई सन्देश पठाएका छन् । उनले आफू सिंगापुरबाट ठीकठाक रहेको बताएका हुन् ।
यसबारेमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका हुन् । उनले नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहालसंग भएको कुराकानीलाई आधार बनाएर स्वास्थ्य ठीक रहेको बताएका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा पनि लेखेका छन् । बुधबार पोष्ट गरिएको उक्त सूचनामा भनिएको छ –‘सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेर अघि नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्नु भएको छ । कुराकानीमा प्रधानमन्त्रीले आफ्फ्नो स्वास्थ अवस्था ठिक रहेको बताउनु भएको छ । दाहालका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकहरूलाई सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ता भित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराउनु भएको छ ।’
ओलीको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल आउन थालेपछि यस्तो किसिमको सन्देश ओलीले दिएका हुन् ।
ओलीको उपचार अर्को हप्तासम्म लम्बिएको छ । सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत ओलीको शरीरमा मिर्गौला सम्बन्धी एन्टिबडी निष्काशन गर्न ‘प्लाज्मा फेरेसिस’ उपचार विधिबाट उपचार भइरहेको छ ।
अहिलेसम्म उनले तेस्रो पटक एन्टिबडी निकालेका छन् । बुधबार तेस्रोपटक एन्टिबडी निकालिएको हो । सातपटकसम्म एन्टिबडी निकाल्ने भनिएकामा अझै चार पटक बाँकी छ ।
त्यसपछि मृगौलाको क्षमता बढाइने भनिएको छ । यही कारण प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बिएको हो ।
उनको उपचार अवधि लम्बिएपछि निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह बुधबार स्वदेश फर्किएकी छिन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन् ।
रिमालले सामाजिक संजालमा ट्वीट गर्दै अवस्थाबारे बुधबार स्पष्ट पारेका हुन् । उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ। उहॉको नीजि चिकित्सक प्रा डा दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ । उहॉको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ। सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ।’
प्रधानमन्त्रीलाई तीन पटक प्लाज्मा फेरेसिस गरिएको छ। एक दिन बिराएर प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको हो।
प्रधानमन्त्री ओली भदौ ५ मा उपचारका लागि सिंगापुर गएका थिए ।
ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनले सिंगापुरमै रहेर मन्त्रिपरिषदको बैठकसमेत आब्हान गरेका थिए । यही भिडियो कन्फरेन्समार्फत गरिएको बैठकको चर्को आलोचनासमेत भएको छ ।