राजपामा अध्यक्ष मण्डलमा गुटबन्दीले चर्कायो बिवाद, एकअर्काबीच बोलचाल बन्द
राजु रिमाल,
प्रकाशित २०७६ भदौ १२ बिहिबार
466
Shares
काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालभित्र सुरु भएको गुटबन्दी र विवाद यसरी बढेको छ कि अहिले अध्यक्ष मण्डलकै सदस्यहरुवीच बोलचाल बन्द भएको छ। समाजवादी पार्टीसँग एकीकरण गर्ने विषयमा सुरु भएको विवाद अहिले वार कि पारको स्थितिमा पुगेको छ।
अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र अनिल झा एकातीर छन भने बाँकि चार जना अध्यक्षहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरत्सिंह भण्डारी अर्कोतीर छन्। सुरुमा झा–राजकिशोरलाई साथ दिएका ठाकुर अहिले महतो, यादव र भण्डारीको पक्षमा उभिएका छन्।
पार्टी भित्र सुरु भएको यो विवाद अहिले यस्तो स्थितिमा पुगेको छ कि, एउटा पक्षले बोलाएको बैठकमा अर्को पक्ष जाने गर्दैनन्। महतो र झावीच अहिले बोलचाल बन्द भएको छ। यी दुइ नेता पार्टी कार्यालयमै भए पनि अलग अलग कोठामा बस्ने गर्छन्। एक अर्कोलाई भेट्दैनन् पनि।
शुक्रबार र शनिबार अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त बैठकमा ठाकुर, महतो, यादव र भण्डारीले नजाने घोषणा गरेका छन्। झा–राजकिशोर पक्षधर पदाधिकारी मात्र उक्त बैठकमा जाने भएका छन्। गत भदौ २ गते संयोजक यादवले बोलाएको अध्यक्ष मण्डलको बैठकमा महतो र भण्डारी काठमाडौ हुँदा हुदै पनि बैठकमा सहभागी भएनन्। त्यसपछि राजपाभित्रको विवाद सडकमै आएको हो।
समाजवादी पार्टीसँग पार्टी एकीकरण नजिक पुगेको बेला राजपाका अध्यक्ष मण्डलका सदस्यहरु दुई कित्तामा उभिनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ। झा र राजकिशोर एकीकरणको विपक्षमा उभिएका छन् भने समाजवादी पार्टीसँग एकीकरण गर्न राजेन्द्र महतो,शरतसिंह भण्डारी र महेन्द्र यादव सक्रिय भएर लागेको छन्। राजपाको आगामि महाधिवेशन अघि नै समाजवादी पार्टीसँग एकीकरण गर्ने उनीहरुको तयारी छन। सकेसम्म भदौ महिनाभित्रै एकीकरण गर्ने तयारी भएको स्रोतको भनाइ छ।
राजकिशोर र झा पक्षधरहरु भने राजपाको महाधिवेशन पछि मात्र पार्टी एकीकरण गर्नु पर्छ भन्ने लाइनमा सक्रिय भएर लागेका छन्। वार्ता टोलीका संयोजकको जिम्मेवारी पाएका महतोले भने समाजवादी पार्टीसँग एकीकरण गर्न करिब करिब सबै टुंग्याएका छन्। स्रोतका अनुसार दुई पार्टीवीच भएको सहमतिमा एकीकृत पार्टीमा ४ जना अध्यक्ष राख्ने, पहिले अध्यक्ष ठाकुर, दोश्रो अध्यक्ष बाबुराम भट्टराइ, तेश्रो अध्यक्ष उपेन्द्र यादव र चौथो अध्यक्ष महतो हुने सहमति भएको छ।
यसैगरी एकीकृत पार्टीको संसदीय दलको नेता महेन्द्र यादव हुने सहमति भएको छ। भण्डारीलाई पनि कुनै महत्वपूर्ण जिम्मेवारी दिएको सहमति भएको छ। तर झा र राजकिशोरको हकमा भने केही सहमति भएको छैन। ‘त्यसैले उहाँहरु (अनिल झा र राजकिशोर) एकीकरणको विरोधमा हुनुहुनछ। एकीकरण पछि उहाँहरुको राजनीतिक भविष्य संकटमा पर्छ ’अनिल–राजकिशोर निकट स्रोतले भन्यो। समाजवादी र राजपावीचको एकीकरण प्रयास तुहियो भने आगामि कात्तिकमा राजपाको महाधिवेशन हुने छ।
प्रत्येक दुई-दुई महिनामा चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने विधानमा राखिएको व्यवस्था अनुसार एक महिना देखि अध्यक्ष मण्डलको संयोजक राजकिशोर छन्। उनले सोमबार अध्यक्ष मण्डलको बैठक बोलाएका थिए। तर महतो र भण्डारी भने बैठकमा गएनन्। महतो र भण्डारी बैठकमा नजाने वित्तिकै अध्यक्ष मण्डलको बैठक बस्न सकेन। राजपाको विधानमा अध्यक्ष मण्डलको बैठक बस्नलाई ६ जना अध्यक्ष अनिवार्य उपस्थिति हुनु पर्ने व्यवस्था गरिएको छ। एक जना अध्यक्ष मात्र अनुपस्थित भएमा बैठक बस्न नसक्ने व्यवस्था विधानमा गरिएको छ।
अब एक महिना पछि राजपाको अध्यक्ष मण्डलको संयोजकमा पुन ठाकुर हुने छन्। ठाकुर अध्यक्ष मण्डलको संयोजक हुने वित्तिकै समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने तयारी महतो,भण्डारी र महेन्द्रको छ।
समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न राजपाले महतोलाई वार्ता टोलीको संयोजक बनाएको छ। संयोजक भएको हैसियतले पनि महतोले बाबुराम र उपेन्द्रसँग पटक पटक वार्ता गरेका छन्। महतोलाई वार्ता टोलीको संयोजक बनाइएकोमा अनिल र राजकिशोरलाई मन परेको छैन।
अध्यक्ष मण्डलको बैठक बोलाएर महतोलाई वार्ता टोलीको संयोजकबाट हटाउने झा र राजकिशोरको तयारी छ। सोमबार बैठक भएको भए उक्त बैठकमा झा र राजकिशोरले यस्तो प्रस्ताव ल्याउने तयारी गरेका थिए। तर राजकिशोर संयोजक भएको बेला अध्यक्ष मण्डलको बैठक नै बस्न सक्ने स्थिति छैन।
२०७४ वैशाखामा तत्कालिन ६ तराइ मधेस केन्द्रित दलवीच एकीकरण भइ राजपा गठन गरिएको थियो। यसअघि, दुइ पटक राजपाको महाधिवेशनको मिति तय भएर पनि स्थगित भएको छ। समाजवादी पार्टी र राजपावीच एकीकरण नभएमा कात्तिकमा राजपाको महाधिवेशन हुने सम्भावना कम देखिएको छ।