arrow

सडकमै चालकको आँखा र रक्तचाप परीक्षण

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
truck-Photo.jpeg

दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए। उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले। सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए। गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ।

आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण गरेको छ। लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

दमौली अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए। ती चालकमध्ये तीन जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उनले बताए। त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो।

नौ जनामा डेङ्गु
तनहुँ जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो। गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन्। व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ।

गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए। डेङ्गुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए। अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो।

तनहुँमा आर्थिक वर्ष ०७१-७२ मा तीन, ०७४-७५ मा एक र ०७५-७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेङ्गुका बिरामी फेला परेका छन्। सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुई-दुई जना डेङ्गुका बिरामी फेला परेका छन्। स्याङ्जामा नौ, तनहुँमा नौ, गोरखामा तीन जना डेङ्गुका बिरामी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ