हिन्दू धर्ममाथि प्रहार हुन खोजेको छ : अध्यक्ष राणा
रासस,
प्रकाशित २०७६ भदौ १४ शनिबार
870
Shares
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू धर्ममाथि प्रहार हुन खोजेको बताएका छन्। नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले कुशे औँसीका अवसरमा आज यहाँ आयोजना गरेको ‘पिता सम्मान कार्यक्रम’मा उनले सनातनदेखि चल्दै आएको धर्ममाथि प्रहार हुन खोजेको बताएका हुन्।
“परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो”, उनले भने। अध्यक्ष राणाले धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाएको उल्लेख गरे। पूर्वमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले जीवनमा लामो अनुभव भोगेका ज्येष्ठ नागरिकबाट समाजले पाठ सिक्नुपर्ने बताए। “पिताको सम्मान गर्नु नै सबैभन्दा ठूलो पुण्य प्राप्ति गर्नु हो”, उनले भने।
विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले बुबाआमालाई एक दिन मात्र सम्मान गरेर पर्याप्त नहुने बताए। “मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असहाय, गरीबको सेवा गर्नु धर्म हो”, उनले भने। एक दशकपहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिए।