arrow

सत्तारुढ नेकपाका दुई दर्जन नेताकार्यकर्तालाई पार्टीमा भित्र्याए प्रदीप पौडेलले  

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
pradip1.jpg

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बैतडी र जिपी कोइराला बैतडीको आयोजनामा गोठलापानीमा  पार्टी प्रवेश एवं वृहत सांस्कृतिक कार्यक्रममा पौडेलले ओली सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ कामको शुरुवात नगरेको बताए । 

‘वर्तमान सरकार झुटा आश्वासन बाँड्नमै सीमित छ,’ उनले भने  ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ । यो सरकारले अहिलेसम्म एउटा काम पनि शुरु गर्न सकेको छैन ।’

दुईतिहाईको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप लगाए । उनले भने  ‘सुन काण्ड, बालुबटारकाण्ड, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डहरुमा हेर्नुहोस् सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।’

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएपनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको उनले बताए । उनले भने ‘पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन । तर यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसका घाँटी निमोठ्ने दाउमा लागेको छ । मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको नेता पौडेलले बताए । उनले भने  ‘नेकपाबाट निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरु नयाँ राजा बन्ने अभियानमा लागेका छन् । उनीहरुका प्रवृति हेर्दा राजाको छनक दिने खालका छन् ।’

एक अर्को प्रसंगमा नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको बताए । उनले भने ‘सरकार सञ्चालन बाहिरबाट गर्न सक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो । यो सरकार नै संविधान कुल्चिँदै अघि बढेको छ ।’

देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब कांग्रेस एकढिक्का भएर अघि बढ्ने पनि पौडेलले दाबी गरे । उनले भने ‘अब हामी एकढिक्का भएर अघि बढ्छौं । लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ।’

पार्टी प्रवेश गर्नेलाई पौडेलको स्वागत
विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई कांग्रेस केन्द्रीय सदस्य पौडेलले सदस्यता वितरण गर्दै स्वागत गरे । सत्तारुढ नेकपाका नेता एवं दलित मुक्ती मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार लगायतलाई पौडेलले पार्टी प्रवेश गराएका हुन् । 

जयराम लुहारसंगै नारायणसिंह मार्कण्ड, धनीराम चुनारा, सरस्वती टमाटा, वकील बोहरा, नमराज बोहरा लगायत दुई दर्जनले पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदीप पौडेल ,अतिथी नेका जिल्ला सभापति नरेन्द्र सिह थापा,उपसभापति चतुर बहादुर चन्द,पाट्न नगरपालिका मियर केशव बहादुर चन्द्र ,बिद्यार्थी नेताहरु बलदेव तिमल्सिना ,सुशिल भट्ट,  महिला संघ जिल्ला अध्यक्ष देबु ढकुन्ना लगायतले सम्बोधन गरेको विद्यार्थी नेता देब महराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ