arrow

नेपालले जस्तो तिव्र गतिमा काम गरेको विश्वको इतिहास छैन : लालबाबु

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
lalbabu1.jpg

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हाँसिल गरेर ईतिहाँसमा फड्को मारेको सुनाए । त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले भने,‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’

उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको सुनाए । उनले भने,‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन ।  यसको लागि समय लाग्छ । रातारात सबै काम हुँदैन् । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित् हुँदैन्।’

उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने सुनाए । उनले थपे,‘एकपछि अर्को काम गरेर जानुपर्छ । धेरै कानून बनाएर संविधान कार्यावयन गर्ने सन्दर्भमा हामी अघि बढिरहेका छौं ।’ उनका अनुसार कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेका छन् ।

मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको इतिहास नभएको जिकिर गरे । यद्धपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए । उनले भने,‘जनताको चाहनाअनुसार अब काम अघि बढ्छन् ।’

उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ताअनुसार हुँदै जाने बताए । उनले भने,‘आवश्यकत्तालाई ध्यानमा राखेर हामी अघि बढ्छौं ।’ स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलिसकिएको र अब संघ र प्रदेशको लागि विज्ञापन खोल्ने प्रक्रियामा रहेको पनि उनले सुनाए । उनले मानव संशाधनको व्यवस्थापन गर्नेतर्फ पनि सरकार सचेत रहेको सुनाए ।
उनले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । पण्डितले भने,‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’ उनले अब प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणका कामले गति लिने विश्वास दिलाए ।
उनले भने,‘अहिले कहीँ कतैबाट पनि अवरोध र रुकावट छैन् । तीनै तह मिलेर अघि बढ्नुपर्छ ।’ सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार गर्नेगरि तीनवटै सरकार मिलेर अघि बढ्ने उनको विश्वास छ ।

उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सक्रिय रुपमा काम गरेको अवस्था सुनाए । उनले भने,‘अख्तियारले अहिले सक्रिय भएर काम गरेको अवस्था छ । अख्तियारको थुनुवा कोठा अहिले सबै भरिभराउ छन् । सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको छ । दोषी जो भएपनि सरकार कारबाही गर्न पछि हट्दैन् ।’

उनले राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति विवरण पनि बुझाउनुपर्ने कुरामा अहिले छलफल भैरहेको सुनाए । उनले भने,‘अहिले कर्मचारीहरुको सम्पत्ति सार्वजनिक गरिएको छैन् । हामी छलफलकै क्रममा छौं ।’ उनले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुसार आएकोले यसबारेमा अफवाह फैलाउन नहुने जिकिर गरे । उनले भने,‘आरक्षण र समावेशीको कुरा हटाएका छैनौं ।’

फरक प्रसँगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुशन्धान गरिरहेको सुनाए । उनले भने,‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’

सर्लाहीका श्याम परदेशीले सयौं गरिब, दुःखी जनतालाई सलामी ऋण कागज बनाएर दुःख दिएको कुरा बाहिर आएको विषयमा पनि सरकार गम्भिर रहेको उनको भनाई छ । उनले भने,‘हामीले यो विषयमा विशेष चासो दिएका छौं । हामी गहिराईमा पुगेर अनुशन्धान गरिरहेका छौं । यो प्रकरणमा दोषी देखिएकालाई दण्डित गर्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ