arrow

चौथो हिन्द महासागर सम्मेलनमा परराष्ट्रमन्त्री सहभागी हुँदै

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
pradeep-gyawali2.jpg

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भदौ १७ र १८ गते मालदिभ्समा आयोजना हुने चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।

 ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवम् अपरम्पारिक चुनौती’ विषयक उक्त सम्मेलनमा ४० भन्दा बढी देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख, विदेशमन्त्री, अन्य मन्त्री, कूटनीतिक व्यक्तित्व र विद्वत्वर्ग सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनलाई मन्त्री ज्ञवालीले भदौ १७ गते सम्बोधन गर्ने कार्यक्रम छ । मालदिभ्स भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह सइदसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल र शाखा अधिकृत जीतबहादुर कार्की छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल भदौ १९ गते स्वदेश फर्कने छ । मालदिभ्स सरकारसँगको सहकार्यमा इण्डिया  फाउण्डेशन र सिङ्गापुरस्थित ‘एस राजरत्नम् स्कूल अफ इन्टरनेशनल स्टडिज्’ले उक्त सम्मेलन आयोजना गरेको हो ।

हिन्द महासागर क्षेत्रमा क्षेत्रीय शान्ति र मानव सुरक्षाका चुनौतीलाई परस्पर सम्मान, समानता र अन्तर्राष्ट्रिय कानूनअनुसार बहुपक्षीय सहयोगको सुदृढ माध्यमबाट सामना गर्न आवश्यक पर्ने संरचनागत खाका तयार पार्ने अवसरका रुपमा सम्मेलन उपयोगी हुने विश्वास आयोजकले व्यक्त गरेका छन् । प्रविधिको क्षेत्रमा द्रुतगतिमा भएको विकास र त्यसले सृजना गरेका विघ्नबाधा तथा विश्वव्यवस्थालाई स्थिर तुल्याइराख्न हिन्द महासागर भेगका सुरक्षा चुनौतीबारे सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।

आतङ्कवादको निरन्तर छायामा परेको यो क्षेत्रको भूराजनीति र व्यापार, भूमण्डलीय तापक्रम वृद्धिले समुन्द्र सतहमा भएको बढोत्तरी, समुद्री पर्यावरण, सामुद्रिक स्रोतको उपयोग, समुद्री यात्राको सुरक्षा, समुद्री आतङ्कवाद, जलमार्ग पहिल्याउने स्वतन्त्रता, जलयात्राका प्राकृतिक र मानव सृजित विपत्ति तथा समुद्री डकैतीलगायत विषयमा सहभागीले आ–आफ्ना अभिमत प्रकट गर्ने सम्मेलन आयोजक समितिले जनाएको छ ।

मालदिभ्सका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री, भारतका बाह्य मामिलामन्त्री, सिङ्गापुरका विदेशमन्त्रीसहित विशिष्ट व्यक्ति सो सम्मेलन आयोजक  समितिमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ