arrow

सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै, कहाँ चुके संचारमन्त्री

logo
गणेश कठायत, 
प्रकाशित २०७६ भदौ १७ मंगलबार

डोटी । रेडियो नेपालमा कार्यरत तीनजना सञ्चारकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी दुईसातादेखि आन्दोलनरत छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना दिईरहेको छ ।

 त्यसैगरी अन्य विभिन्नखाले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । महासंघको सो आन्दोलनलाई अन्य विभिन्न संघसंस्था, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक अभियन्ता एवं राजनीतिक नेताकार्यकर्ताले ऐक्यवद्धता र समर्थन गर्ने क्रम निरन्तर चलिरहेको छ ।

जसमा नागरिक समाजका तर्फबाट प्राध्यापक संघ डोटी बहुुमुखी क्याम्पस, गैह्र सरकारी संस्था महासंघ डोटी, नेपाल शिक्षक महासंघ डोटी, डोटी उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ डोटी लगायतका संघसंगठनहरुले ऐक्यवद्धता जनाएका छन् । ती संस्थाका प्रमुख तथा प्रतिनिधिहरु महासंघको धर्ना कार्यक्रममा सहभागी भएर निरन्तर ऐक्यवद्धता जनाइरहेका छन् ।

यसैगरी लोकतान्त्रिक श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले पनि आन्दोलनमा निरन्तर ऐक्यबद्धता जनाउँदै आएको छ । ‘यो नितान्त श्रमिजिवीहरुको मुद्दा हो । 

श्रमिकहरुले निर्वाध, बिनाभेदभाव श्रमको हक राख्दछन्,’ सो संगठनका डोटी जिल्ला अध्यक्ष काशिराम पाठकले भने, यस्तोमा हाम्रो पूर्णत ऐक्यबद्धता छ । आवश्यकता अनुसार हामी संघर्षका कार्यक्रम पनि गर्नेछौ ।’ 

ट्रेड युनियनले आफ्नै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत सुचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई ज्ञापनपत्र समेत पठाएको छ । 

जसमा निष्काशित सञ्चारकर्मीहरुको तत्काल पुनर्वहालीको माग गरेको छ । यस्तै सोमबारै रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र मार्फतपनि ज्ञापनपत्र पेश गर्ने कार्यक्रम छ । ट्रेड युनियन तत्काल पत्रकार महासंघको कार्यक्रममा ऐक्यवद्धता जनाउने र केन्द्र एवं प्रदेशमार्फत दवाव सिर्जना गर्ने नभए कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएको छ ।

यस्तै ट्रेड युनियन सम्बद्ध विभिन्न १८ वटा पेशागत संघसंगठनहरुले पनि एकमुष्ट ऐक्यबद्धताको घोषणा गरेका छन् । यस्तै सञ्चारकर्मी निष्काशनविरुद्ध राजनीतिक दल र जनप्रतिनिधिबाट पनि ऐक्यबद्धता सार्वजनिक भएको छ । 

जसमा नेपाली कांग्रेस डोटीले विज्ञप्ति नै सार्वजनिक गरेर तत्काल पुनर्वहालीको माग गर्दा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले घटनाको आपत्ति जनाएका छन् ।

महासंघको धर्ना कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी, उपप्रमुख धौलीदेवी रावललगायतका अन्य जनप्रतिनिधि आफै बसेर ऐक्यबद्धता जनाएका छन् ।

निष्काशनको विरोधमा राष्ट्रिय सभामा सांसद तारा भट्ट, प्रतिनिधि सभामा सांसदहरु बालकृष्ण खाँड, डिला संग्रौला र अतहर कमल मुसलमानले सरकारको ध्यानाकर्षण गराएका छन् ।

रेडियो नेपालले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विनाकारण निष्काशन गरेको थियो । 

जसको विरोधमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन डोटी शाखा आन्दोलित हुँदा दुँबै संगठनमा प्रदेश र केन्द्रीय समितिहरु तीनैजना सञ्चारकर्मीको पुनर्वहालीको माग गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गर्देै आएका छन् ।

कहाँ चुके संचारमन्त्री बाँस्कोटा ? 
संचारमन्त्री बाँस्कोटाले यसबारे दुई साताअघि नै जानकारी पाइसकेका छन् । तर उनले यसबारेमा कुनै चासो दिएका छैनन् । उनले आफूलाई यसबारेमा कुनै चासो नै नभएको भनी प्रतिक्रिया दिएका थिए । 

तर आफूलाई दवावमुलक ज्ञापनपत्र आइसकेपछि उनले परिस्थितिबाट भाग्नु उपयुक्त नहुने प्रतिक्रिया पनि आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ