arrow

गाईलाई भिरबाट खसालेर मारेका हैनौँ : नगर प्रमुख राणा

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
cow-dead.jpg

नेपालगञ्ज । नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले मंगलबार प्रतिक्रिया दिएका छन् ।
 
उक्त घटना हुँदा बाहिर रहनुभएका नगर प्रमुख राणाले नेपालगञ्ज आएपछि मंगलबार यहाँका पत्रकारसँगको छलफलमा भने, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन ।”

आफूले नेपालगञ्जको छाडा गाईलगायत पशु चौपाया व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन डिभिजन कार्यालय, प्रदेश ५ का मुख्यमन्त्रीसँग छलफल गरे पनि सार्थक परिणाम हासिल हुन नसकेको नगर प्रमुख राणाले गुनासो पोख्नुभयो ।
 
“हामीले नेपालगञ्जका नागरिकहरुको सहयोगसमेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौँ, तर नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने रहेछ”, उनको भनाइ थियो ।

नगरप्रमुख राणाले बर्दियाको बाँसगढी नगरपालिका लगायतका स्थानीय तहले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफुहरुले पनि गाई दैलेख पठाएको बताए ।

“यो गौहत्या नभई दुर्घटना हो, गाई भिरबाट खसालेर मारेको भन्ने प्रचारमा कुनै सत्यता छैन,  ट्रकभित्र गाई मरेपछि आत्तिएर सँगै गएका कर्मचारीले छाडेका रहेछन्”, उनको स्पष्टोक्ति थियो ।

छलफलमा सहभागी पत्रकारहरुले अल्पकालीन र दीर्घकालीन योजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन र संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

छलफलमा भारतबाट नेपालगञ्ज धपाइएका पशु चौपाया रोक्नुपर्ने, गाई र अन्य पशुपालकहरुको पशुमा ट्याग लगाउने र यसरी ट्याग लगाएका पशु छाडा छाडिएमा दण्ड, जरीवाना गर्नुपर्ने, गौशाला निर्माण गरी छाडा गाईको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव पनि दिएका थिए ।
 
नगरप्रमुख राणाले अब सबै पक्षको सुझावको आधारमा स्पष्ट कार्ययोजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन गरिने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ