arrow

पत्रकार हमाललाई सर्वोच्चको ढोकाबाटै घोक्रयाउँदै लग्यो प्रहरीले, दर्जनबढीलाई यातना

अदालत छाड्न आदेश दिन्छ प्रहरी पक्राउ गर्छ, पक्राउ परेका जनपत्रकार संगठनका पत्रकारहरुको नालीबेली

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
patrakar-pakrau.jpg

काठमाडौं। पोखराबाट सञ्चालित जनसञ्चार अनलाइनका सम्पादक पत्रकार ओम हमाललाई अदालतको आदेश विपरीत मंगलबार पुनः सर्वोच्च अदालतको ढोकाबाटै गिरफ्तार गरिएको छ । 

नेकपा कास्कीका जिल्ला ईन्चार्ज कृष्ण वाग्ले रुपेशको अन्तर्वार्ता लिन कास्कीको शिशुवा पुगेका पत्रकार हमाललाई ईन्चार्ज वाग्लेसंगै पक्राउ गरिएको थियो । 

जनपत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा गण्डकी धौलागिरी संयोजक र नेपाल पत्रकार महासंघ कास्कीको साधारण  सदस्य रहेका पत्रकार हमालको पुनः गिरफ्तारीले प्रेसमाथि सरकारले गरिरहेको श्रृङ्खलाबद्ध हस्तक्षेपको पछिल्लो कडी भएको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जनाएका छ्न् । 

त्यसैगरी काठमाडौंबाट प्रकाशित हुने जलजला मासिकका सम्पादक खेम थपलियालाई बागबजारमा रहेको प्रगतिशील लेखक संघको कार्यालयमा आयोजित कार्यक्रमस्थलबाटै पक्राउ गरि केही दिन अगाडि मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको थियो ।  

केही महिना अगाडि काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका निहिगु ज्वजोलोप्पा पत्रिकाका सम्पादक तथा जनपत्रकार संगठन नेपालका काठमाडौ संयोजक जितेन्द्र महर्जनलाई किर्तिपुरमा उनकै घरबाट पक्राउ गरिएको थियो र महर्जन पनि अदालतको दोस्रोपटकको आदेशमा रिहाइ भएका डुम्रेले जानकारी दिए । 

त्यस्तै पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द पनि समाचार लेखेकै कारण पक्राउ गरी १८ दिन सम्म लामो कष्टकर हिरासत बसाइँ पछि अदालतको आदेशमा रिहाइ भएको थिए भने सम्पादक चन्द र अर्का सञ्चालक केवी गुरुङ अदालतमा तारेख धाइरहेका छ्न् । 

बझाङका पत्रकार गणेश विकलाई समेत समाचार लेखेकै कारण पक्राउ गरिएको थियो उनलाई समेत अदालतकै आदेशमा रिहाइ गरिएको डुम्रेले बताए। 

जनपत्रकार संगठन नेपालका कालिकोट संयोजक तथा ज्वाला खबर पत्रिकाका प्रकाशक–सम्पादक कर्ण विश्वकर्मालाई रेडियोको स्टुडियोबाटै गिरफ्तार गरि हिरासतमा राखिएको विरोधमा चौतर्फी दबाब पछि ८ दिनमा प्रहरीले छाडेको थियो भने अहिले विभिन्न बहानामा दुःख दिइरहेको उनले बताए ।

दाङ सन्देश अनलाइनका सम्पादक तथा जनपत्रकार संगठन नेपालकी केन्द्रीय कोषाध्यक्ष जानकी चौधरी सहभागी दाङको कार्यक्रममा पत्रकार महासंघको सिङ्गो केन्द्रीय पदाधिकारीहरूको बीचबाट गिरफ्तारीको प्रयास गरिएको थियो । 

कास्कीका पत्रकार राजकुमार घिमिरेलाई पनि नियन्त्रणमा लिएर केही घण्टामा छाडिएको थियो । यस्तै कास्कीका पत्रकार राजेन्द्र अधिकारीलाई पनि गिरफ्तार पछि चौतर्फी बिरोध भएसंगै  रिहाइ गरिएको थियो । 

यस्तै नेपालगन्जमा जनपत्रकार संगठनका सदस्य बसन्त विकलाई समेत २–२ पटक पक्राउ गरी अदालतको बाध्यकारी आदेशमा छाडिएको थियो । 

कास्कीका पत्रकार राजन साउदलाई समेत पक्राउपछि केही दिनमा अदालतको आदेशमा छाडियो । यस्तै अन्य थुप्रै पत्रकारहरुलाई विभिन्न बहानामा गिरफ्तार गर्ने प्रयास गरिएको सूचना आफूले पाएको समेत डुम्रेले बताए । 

प्रहरीले गिरफ्तार गर्नुपर्ने पत्रकारहरुको सूची बनाएर ती पत्रकारका घरघरमा पठाउने, सञ्चार कार्यालय तथा अन्य स्थानमा पनि खोजी गर्ने, पत्रकारका घरपरिवारका अन्य सदस्यलाई सोधपुछ गरेर मानसिक यातना दिने कार्य पनि तीब्र पारेको उल्लेख गर्दै उनले सरकारबाट भइरहेको यसखालका निरङ्कुश र अमानवीय कार्यको घोर भर्त्सना एवं निन्दा गरेका छ्न्। 

अध्यक्ष डुम्रेले पक्राउ गरिएका सबै पत्रकारहरुलाई तत्काल रिहा गर्न माग गर्दै संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र कुनै पनि राजनैतिक आस्था विचार अंगाल्न पाउने स्वतन्त्रतालाई वर्तमान सरकारले ठाडै उल्लंघन गर्दै पत्रकार एवम् नागरिकहरु चरणबद्ध गिरफ्तार गरिरहेको बताएका छ्न् । 

पत्रकारले लेख्ने समाचारबाट त्रसित भई थुनामा राख्ने सरकारको यस प्रवृतिप्रति नेपाल पत्रकार महासंघसहित सम्पूर्ण संघ संस्था, पत्रकार र सञ्चारमाध्यामलाई आवाज उठाउन आग्रह गर्दै डुम्रेले विना कारण गिरफ्तार गरी हिरासतमा राखिएका पत्रकारको रिहाई तथा उनीहरुको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगसहितका मानवअधिकारवादी संघ संस्थालाई आग्रह गरेका छन् ।

सरकारी ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने र अन्ततः सरकार फासिबादी अभ्यासमा उद्वत भएको उल्लेख गर्दै डुम्रेले आम कलमजिवीहरुलाई सरकारको यसखाले प्रेस विरोधी कदमको कडा शब्दमा विरोध गर्न अनुरोध गरेका छ्न्। 

उनले प्रेस स्वतन्त्रताको सम्मान गर्नुका साथै गिरफ्तार पत्रकारहरुको यथाशीघ्र रिहाइको मागको समर्थनमा आन्दोलनमा सहभागी  हुनसमेत अनुरोध गरेका छ्न् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ