परराष्ट्र मन्त्री ज्ञवालीले फेरि स्पष्ट पारे जम्मू–कश्मीरको मुद्दाबारे
प्रकाशित २०७६ भदौ १८ बुधबार
814
Shares
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जम्मू–कश्मीरको विषय भारतको आन्तरिक मामला भएको फेरि पनि स्पष्ट पारेका छन् ।
माल्दिभ्सको मालेमा आयोजित चौथो हिन्दमहासागर सम्मेलन (आईओसी) मा भाग लिने क्रममा भारतीय समाचार एजेन्सी एएनआईलाई दिएको प्रतिक्रियामा मन्त्री ज्ञवालीले स्पष्टै पारिदिएका हुन् ।
यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणअघि गत भदौ पहिलो साता पनि मन्त्री ज्ञवालीले जम्मू–कश्मीरको विषय आन्तरिक भएको भन्दै नेपाल सरकारको धारणा पहिलो पटक व्यक्त गरेका थिए ।
उनले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाउने अधिकार भारतीय केन्द्र सरकारलाई रहेको बताए । मन्त्री ज्ञवालीले संविधान संशोधन गर्ने अधिकार भारतीय सरकारलाई रहेको पनि स्पष्ट पारे ।
नेपाल सरकारले जम्मू–कश्मीर क्षेत्रमा रहेका नेपालीका बारेमा बढी चिन्तित भएको भन्दै सबै सुरक्षित रहेकामा खुशी व्यक्त गरे ।
मन्त्री ज्ञवालीले आफूहरुले सुरक्षा व्यवस्थाको विषयलाई लिएर भारतीय सरकारसंग समन्वय गरिरहेको पनि स्पष्ट पारे । उनले भारत–पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध पनि सुधारिने आशा रहेको बताए ।
सार्क राष्ट्रको अध्यक्षता गरिरहेको राष्ट्र भएको नाताले पनि सबै सार्क देशबीचको तनाव कम गर्न समझदारी जरुरी रहेको उनको भनाइ छ ।
मन्त्री ज्ञवालीले आशाको किरण बाँकी नै रहेको भन्दै तनाव कम गरी शान्ति र स्थायित्वका लागि आपसी वार्ता जरुरी भएको पनि बताएका छन् ।