arrow

सर्वोच्चको गेटमा अनसन बसेर प्राण त्याग्ने चेतावनी

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
supreme-court-news.jpeg

काठमाडौ । गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहका परिवारले सर्वोच्च अदालतले घट्नाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले न्यायका लागि सरकार, आम नागरिक, सर्वोच्च अदालतलगायत सबैसँग अपिल गरेको छ । उनीहरुले दोषीमाथि कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरे ।

पत्रकार सम्मेलनमा बालककी आमा बबिता देवीले छोराको हत्यारालाई कारबाही नभए आफू सर्वोच्च अदालतको गेटमा अनसन बसेर प्राण त्याग्ने चेतावनी दिईन् । छोराको हत्याराबारे स–प्रमाण अदालतमा कागजपत्र पुग्दा पनि दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै न्यायका लागि जस्तोसुकै कदम चाल्न पनि आफू बाध्य हुने बिताइन् । उनले भनिन्–‘मेरो छोरा युवराजले न्याय नपाए म सर्वोच्च अदालतको गेटमा अनसन बसेर प्राण त्याग्छु ।’

छोराको हत्यारामाथि कारबाही नभएसम्म आफू चुप नलाग्ने पनि उनले बताइन् । उनले भनिन्–‘एउटी आमाको काखबाट १२ वर्षको छोरालाई खोसेर लगी हत्या गरिँदा हत्यारालाई किन छाडियो ?’ उनले आमाको आँशुले हत्यारालाई मात्र नभई हत्यारालाई प्रश्रय दिनेलाई समेत पोल्ने बताइन् ।
उनले भनिन्–‘मेरो छोराले न्याय नपाए उसको आत्माले शान्ति पाउनेछैन ।’ अदालतले पनि गल्ती गर्न सक्ने भन्दै उनले तत्काल सच्याउन माग गरिन् । न्यायनिसाफका लागि आफूहरु एक वर्षभन्दा बढी समयदेखि भौतारिँदै आएको पनि उनको गुनासो छ ।

दिलिप कुमार शाहको १२ वर्षीय छोरा युवराजकुमार साहलाई २०७५ जेष्ठ २६ मा रौतहटको कटहरिया ९ स्थित् घरबाट अपहरण गरी एक करोड फिरौती मागी भोलिपल्ट विभत्स हत्या गरिएको थियो । घट्नामा १७ जना दोषी पाइएकामा १२ जना पक्राउ परेका थिए भने पाँच जना हालसम्म फरार छन् ।

पत्रकार सम्मेलनमा युवराजका पिता दिलिपकुमार साहले घट्नाको प्रकृति, ‘कल–डिटेल, अभियुक्तहरुको बयानलगायतका प्रमाणका आधारमा अभियुक्तहरुविरुद्ध सरकारले मुद्दा दायर गरेकोमा जिल्ला अदालत रौतहटले सबै अभियुक्तलाई दोषी ठहर गरेको, विशेष अदालतले चार जनालाई धरौटीमा रिहा गर्ने फैसला गरेको र सर्वोच्च अदालतले चार जनालाई छाड्ने फैसला सदर गरी थप दुई जनालाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाए । साहले प्रश्न गरे्–विभत्स तरिकाले मेरो छोराको हत्या गर्नेहरु आज मेरै सामुन्ने छाति फुलाएर हिंडन थालेका छन्, के यही न्याय हो ?
घट्नाका पाँच अभियुक्त अझै फरार रहेको र उनीहरुलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै साहले आफू र परिवारसमेत असुरक्षित रहेको बताए । उनले भने–‘एकातर्फ दोषी फरार छन्, अर्कोतर्फ अदालतले धमाधम छोड्ने आदेश दिँदैछ ।’ छोरा गुमेको पीडाको घाउ नपुरिँदै दोषीहरुले उन्मुक्ति पाएकोमा पीडा भइरहेको उनको भनाई थियो ।

बालकका बाबु साहका अनुसार दुई छोरीको बीचमा सुतिरहेको छोरा युवराजलाई अपहरणकारीहरुले उठाएर लगेका थिए । गर्मी समय भएको हुँदा झ्यालहरु सबै खुला थिए । झ्यालमा चारैतिर हिर्काएर छोरीहरुलाई समेत हल्ला गरे मारिदिन्छु भन्दै अपहरण गरेका थिए । त्यसपछि पुलिसलाई अपहरणकारीहरुको सबैको नामसहित रिपोर्ट गरेको र भोलिपल्ट मोबाइलमा फोन गरी एक करोड रुपैयाँ फिरोती मागेका थिए । रकम नदिए बालकको ज्यान लिने धम्की समेत दिएका थिए । भोलिपल्ट पुलिसले अपहरणकारीहरुको पत्ता लगाएपनि छोरालाई गोली हानी हत्या गरिसकेका थिए  ।
 
प्रहरी अनुसन्धानका क्रममा अदालतमा २२ जनामाथि अनुसन्धान भएको र अभियुक्त बनाइएको थियो । पछि १७ जनामाथि मुद्दा दायर गरिएको साहले जानकारी दिए । अदालतले घट्नाका दोषीलाई एकपछि अर्को गर्दै छाड्ने फैसला गरेकोमा पनि उनले असन्तुष्टि जनाए । साहले थपे–‘जतिजति न्याय खोज्दै माथि जान्छौ त्यति त्यति अपराधीहरु छुट्दै जान्छन् ।’ आफूलाई न्यायालयमा विश्वास रहेकाले न्यायका लागि हात फैलाउँदै भौतारिइरहेको उनको भनाई छ ।  

साहले थप्दै भने–‘अदालतले दोषी ठहर गरेकामा रामबालक राय यादवसमेत १७ जना हुन्छन् । घट्नाका प्रत्यक्षदर्शी र प्रहरी अनुसन्धानका आधारमा शक्तिकुमार यादव, प्रविनकुमार यादव, रामाज्ञाप्रसाद यादव, कृष्णऔतार राय यादव, रितेश यादव, फिरोधन राय यादव, लालबाबु राय यादव, रामईश्वर राय यादव र होषनारायण यादव घट्नाका अपराधी भएको बताए ।

होषनारायण घटनाका बखत जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेको र उनको पनि संलग्नता रहेको उनको भनाई थियो । होषनारायण आजसम्म फरार अपराधीको सूचीमा छन् । होषनारायणमाथि किटानी जाहेरी दिएपछि बारा प्रहरीले रवानापत्र दिएर पठाएपछि फरार भएको उनले बताए ।
कार्यक्रममा बालकका दाई निरंजन जैसवालले आफूहरुलाई अदालतमाथि पूर्ण आशा र भरोसा रहेको सुनाउँदै न्याय पाउनुपर्ने धारणा राखे । हत्यामा संलग्न दोषीमाथि कडा कारबाही हुनुपर्ने जैसवालको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ