arrow

पूर्व मुख्य सचिव भोजराज घिमिरेको नलुकेको आँसु

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
bhojraj-ghimire.jpg

काठमाडौं। मुख्य सचिव हुँदै राजदुतसम्म भएका डा भोजराज घिमिरे बिहिवार एक कार्यक्रममा भावुक मात्र भएनन् आँसु पनि झारे। 

नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवस कार्यक्रममा घिमिरे निकै भावुक पनि भए।निजामती सेवामा रहेर देशको लागि जति काम गरेपनि सेवाबाट निवृत भएपछि पाएको व्यवहारबाट मर्माहत भएका उनले आफ्नो पीडा सायद पहिलोपटक सार्वजनिक गरे। त्यसकारण पनि घिमिरेको गला बेलाबेलामा अवरुद्ध हुन्थ्यो। 

अवरुद्ध गलाबाट आवाज बेलाबेलामा रोकिएपनि घिमिरेको आँखाबाट भने आँसु रोकिएन। उनले पटक पटक आँसु लुकाउने प्रयास गरेपनि त्यो प्रकट भइहाल्यो। 

मुख्य सचिवसम्मको जिम्मेवारी लिएर काम गर्दा निष्कलंकित भएर काम गरिएपनि निवृत भएपछि कलंकित बनाइएकोमा उनले आक्रोश पोखे। 

अकुत सम्पति कमाएको आरोपमा सेवाबाट निवृत भएका घिमिरेलाई अख्तियारले १३ पान्ने फर्म भर्न मात्र लगाएन तेजोवध गर्ने प्रयास पनि गरेको उनले स्मरण गरे। 

आफूमाथि संगठित आक्रमण गरि तेजोवध गरिदा पनि विगतमा आफूसँग सहकार्य गरेका मन्त्री नेतादेखि कोहि पनि नबोलेकोमा उनले गुनासो गरे। वर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बाहेक कसैले आफूलाई परेको पीडामा नबोलेको उनले दुखेको गरे। 

नेपाल निजामती कर्मचारी युनियन संघको सम्मान लिन पुगेपनि उनले सम्मान लिन आउनुअघीको आफ्नो शंसयलाई कार्यक्रममा साझा गरेका थिए। 

म कलंकित हु मलाई सम्मान नगर्नुस भनेर आफूले आयोजकलाई भनेको उनले कार्यक्रममा सुनाए। सम्मानितहरु मध्येबाट मन्तव्य राख्ने क्रममा घिमिरेले भने, ' मुख्य सचिव हुँदा सचिव र कार्यालय सहायकलाई फरक गरिन, ट्रेड युनियनलाई बढी स्थान दिएको आरोप लगाइयो।'

सबैलाई समभाव राखेर व्यवहार गरेपनि सेवाबाट निवृत भएपछि भने आफूलाई तेजोवध गरिएकोमा उनको आक्रोश कांग्रेस उपसभापति विजय गच्छेदारले बोल्ने क्रममा पनि देखियो। 

घिमिरेले पाएको पीडाप्रति सहानुभुती राख्दै मन्तव्य राखेका गच्छेदारलाई घिमिरेले कटाक्ष नगर्न सचेत गराए। यद्यपी गच्छेदारले प्रष्टिकरण दिदै आफूले घिमिरेलाई सम्मानको नजरबाटै हेर्ने बताए। 

निष्कलंक भएर सेवा अवधीभर काम गरेपनि सेवाबाट निवृत हुँदा कलंकको टीका जवर्जस्ती लगाउनु पर्दाको पीडा ओकलेका घिमिरेले कलंकको टीका नमेटिएसम्म सम्मान, माला नलिने बताए।

कार्यक्रममा घिमिरे सहित पूर्व मुख्यसचिव सोमलाल सुवेदी, पूर्व सचिव तथा सहसचिवहरु गणेशराज कार्की, मधु प्रसाद रेग्मी, लक्ष्मीविलास कोइराला लगायत एक सय जना सेवा निवृत कर्मचारीलाई सम्मान गरिएको थियो।

नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवस संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले ट्रेड युनियन अधिकार दिलाउने कांग्रेसलाई बचाउने जिम्मा लिन पनि आग्रह गरे। श्रमिकको सरकार भन्ने नेकपाको सरकारले पहिलो आक्रमण नै ट्रेड युनियन माथि गरेकोमा पोखरेलले बिरोध जनाए। 

कार्यक्रममा युनियनले निकालेको कर्मचारी बार्षिक प्रकाशनको विमोचन कांग्रेस सभापति शेर बहादुर देउवाले गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ