सञ्चारकर्मी निष्काशनविरुद्धको आन्दोलन सिंहदरबार केन्द्रीत हुने
प्रकाशित २०७६ भदौ २० शुक्रबार
368
Shares
डोटी। रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी सेवाबाट निष्काशन गरिएको विरुद्धको आन्दोलन अब संघीय राजधानी काठमाडौ केन्द्रीत हुने भएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाले विगत १८ दिनदेखी गरिरहेको आन्दोलन अब राजधानी केन्द्रीत हुने निर्णय गरेको छ ।
महासंघ डोटी शाखाको शुक्रबार बसेको बैठकले आन्दोलन काठमाडौंमा पनि सिंहदरवार केन्द्रीत गर्ने निर्णय गरेको हो । ‘यत्रोदिन आन्दोलन गर्दापनि सरोकारवालाहरुले नसुनेकोमा हामी खेद प्रकट गर्दछौ,’ शाखाका अध्यक्ष योगेन्द्र बलायरले भने,‘हामीले आन्दोलनलाई थप उत्कर्षमा पुर्याउनेपर्ने महशुस गरेका छौ । त्यसैले राजधानी केन्द्रीत कार्यक्रम गर्ने निर्णय गरेका छौ ।’
निर्णयमा आन्दोलनलाई थप उत्कर्षमा पुर्याउन नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र अन्य पेशातग संघसंगठनहरुसंग समन्वय र सहकार्य गर्ने उल्लेख छ । जसबाट अझै दबाब सिर्जना गर्ने उद्देश्य रहेको डोटी शाखाको ठहर छ ।
यसबाट पनि सुनुवाई नभए कानुनी परामर्श तथा उपचार खोज्ने र सिँहदरबार गेटमै धर्ना दिनेसम्मका निर्णय भएका छन् । ‘हामी सामान्य ढंगबाटै सुनुवाई होस र समस्याको समाधान गरियोस भन्ने चाहन्छौ,’ अध्यक्ष बलायरले भने,‘अन्यथा डोटी शाखाले सिँहदरबार गेटमै धर्ना दिन्छ । दिपायलको व्यानरसंगै झोलामा बोकेर लैजादैछौ ।’
रेडियो प्रसार सेवा विकास समितिले भदौबाट लागु हुनेगरी रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई सेवाबाट निष्काशन गरेको थियो । जसको विरुद्धमा पत्रकार महासंघ डोटी शाखा, नेपाल प्रेस युनियन लगायत संस्थाहरू आन्दोलित छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, सुदूरपश्चिम प्रदेश समिति, नेपाल प्रेस युनियन केन्द्रीय समिति, प्रेस युनियनका देशभरीकै सम्पूर्ण जिल्ला शाखा लगायतका विभिन्न पेशागत संघसंगठनहरुले पत्रकार पूर्नवहालीको माग गर्दै दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।