arrow

सरकारले काम होइन नारा बेचिरहेको छ : सहमहामन्त्री डा.महत

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
prakashsaran-_mahat.jpg

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशहरण महतले वर्तमान सरकारले कामको सिन्को नभाँचे पनि नारा भने चहिनेभन्दा पनि बढी बिक्री गरिरहेको बताएका छन्। बढी कुरा गर्ने त वर्तमान सरकारको पहिचान नै भएको आरोप उनले लगाए। उनले भने–यो देशका प्रधानमन्त्रीले नै दुरबिनले रेल ल्याउने बाटो हेरेर दुइ वर्षभित्रै रेल ल्याउने, काठमाडौँमा पानी जहाजको कार्यालय स्थापना गर्नेजस्ता हावादारी काम गरेकोले जनतालाई आश्चर्यमा पारेको उनले बताए।

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटद्धारा आज राजधानीमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।

उनले वर्तमान सरकारका यस्ता हास्यास्पद क्रियाकलापले देशमा समृद्धि कदापि सम्भव नरहेको ठोकुवा गर्दै भने–सरकार बनेको यति लामो समयसम्म पनि उनीहरुको काम ठूला ठूला भाषण मात्र गर्ने मात्र भएको छ कामको सिन्को कतै भाँचिएको देखिन्न।

रेल बनाउन कति लाग्छ, कसले पैसा दिने हो, त्यसको सम्भावना नेपालमा हो कि होइन यी कुनै कुरामा सरकारलाई मतलब छैन तर दुई वर्षमा रेल आउँछ भनेर प्रचार मात्र गरिरहेको उनले बताए।

सरकारले गर्न सक्ने र नसक्ने सबै काम गरिदिने भनेर जनतालाई फोस्रा आश्वासन मात्र दिएको उनको भनाई थियो। डा.महतले भने–काम गर्न सकिने नसकिने भन्दा पनि अहिले नै सबैकुरा हुन्छ जस्तो गरेर सरकारले नारामात्र बिक्री गरिरहेको छ, यसले जनता आजित भएका छन्।

वर्तमान सरकारले देशको सबै भूगोलका नागरिकलाई समान व्यवहार गर्न नसकेको गुनसो गरे। अहिले सरकारमा रहेको पार्टीले आफूलाई भोट हालेको हो कि होइन भनेर हेरेर नागरिकलाई व्यवहार गर्ने र सुविधा दिने विभेदपूर्ण काम गरिरहेको छ, उनले भने।

कर्णाली प्रदेशमा पर्यटन, जडिबुटी र हाइड्रोपावरको अत्यधिक सम्भावना रहेपनि त्यसको यथोचित उपयोग र उपभोग हुन नसकेको उनले बताए।

त्यहाँको जडिबुटी र पर्यटनको सम्भावनालाई राज्यले प्रयोगमा ल्याउन नसक्दा कर्णाली प्रदेश मात्र होइन कि देश नै पछि परेको धारणा उनले राखे। कर्णालीमा जलस्रोतको सम्भावना देशकै समग्र सम्भावनाको कम्तीमा पनि आधा रहेको उनको भनाई थियो। त्यसैले राज्यले बजेटको व्यवस्था गर्दा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न उनले आग्रह पनि गरे।

उक्त केन्द्रका अध्यक्ष टेकराज शाहीले कर्णाली प्रदेश राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे। सो संस्थाले कालिकोट जिल्लाका सामुदायिक विद्यालयबाट एसइइ पास गरी विभिन्न स्थानमा अध्ययनरत गरीब तथा जेहेन्दार २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ