arrow

चिनियाँ विदेशमन्‍त्री वाङ काठमाडौंमा, यस्तो छ मंगलबारसम्मको तालिका 

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
wang-nepal-lilamani.JPG

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइ पुगेका छन् । राष्ट्रपति सी चिनपिङको कार्तिकमा हुने भनिएको भ्रमणको तयारीका लागि वाङ आएको बताइएको छ । 

केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चीनको तर्फबाट भएको यो उपल्लो स्तरको औपचारिक राजनीतिक भ्रमण हो। वाङले उच्चस्तरको राजनीतिक शिष्टाचार भेटवार्ता र दुई पक्षीय मन्त्रीस्तरीय औपचारिक छलफल गर्ने कार्यक्रम छ।  

उनले सोमबार दिउँसो ३ः३० बजे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता गर्नेछन् । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ता हुनेछ । 

उक्त छलफलपछि दुई पक्षीय प्रतिनिधि मण्डलबीच सामान्य सहयोग सम्बन्धी सम्झौता हुने बताइएको छ। 

साँझ ५ बजे विदेशमन्त्री वाङ प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुग्नेछन् । दुवैबीच एकघण्टासम्म एक्ला एक्लै पनि भेट्ने कार्यक्रम रहको छ। 

साँझ ६ बजेपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नेछन् । आधा घण्टाको समयमात्र त्यही दिइएको बताइएको छ । 

बेलुकी उनी प्रदीप ज्ञवालीले दिने रात्री भोजमा सहभागी हुन याक एण्ड यति होटलमा पुग्नेछन् । अनि उनी राति आराम गर्न द्धारिकाज होटलमा जानेछन् । 

उक्त रात्रिभोजमा उनले पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेताहरुसँग सामूहिक रुपमा भेट गर्ने कार्यक्रम छ ।  

तीन दिने औपचारिक भ्रमणमा आएको उनले राजनीतिक भेटघाट मंगलबारलाई छुट्टाएका छन् । होटल मेरियटमा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहान छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। 

त्यसपछि उनी होटल द्वारिकाज फर्केर लन्च गरी स्वदेश फर्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ