arrow

अझै खुलेन दशैँको अग्रीम टिकट

logo
सञ्चिता घिमिरे,
प्रकाशित २०७६ भदौ २३ सोमबार
ticket1.jpg

काठमाडौं ।  दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म शुरु भएको देखिएको छैन ।

अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महीना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन ।

विगत वर्षमा दशैँको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका थिए भने यो वर्ष पनि विभिन्न बहानामा समयमा टिकट नपाउने हो कि भन्ने चिन्ता यात्रुमा छ । समयमा टिकट बुकिङ गरेपछि मात्रै यात्रु ढुक्क हुनसक्ने यातायात क्षेत्रका अभियन्ता राम थापाले बताए ।

हिन्दू धर्मालम्बीको सबैभन्दा ठूलो चाड मानिने दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुने गर्छन् । समयमै टिकट खोल्दा चाहने व्यक्ति समयमा नै घर फर्कन सक्ने उनले बताए । उनले भने, “अग्रीम टिकट नखोल्दा दशैँको मुखमा खोल्दा यात्रु दोब्बर÷तेब्बर तिरेरसमेत घर जान बाध्य हुनुपर्ने अवस्था आउँछ ।”

दशैँका समयमा धेरै यात्रु आवतजावत गर्ने हुँदा यात्रुको सुरक्षाका विषयमा समेत सरकार र व्यवसायी गम्भीर हुनुपर्ने थापाले बताए । दशैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्काे जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराव अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । उनले भने, “कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्‍याउने भन्ने अहिलेदेखि नै तयारी हुनुपर्छ ।”

यातायात व्यवस्था विभागले यो साता मात्रै सरोकारवाला निकायसँगको छलफल शुरु गरेको छ । आगामी साता सरोकारवाला निकायसँग विभागमा बस्ने वैठकले अग्रीम टिकट कहिलेदेखि खोल्ने भन्ने निर्णय हुने महानिर्देशक गोगनबहादुर हमालले बताए । व्यवसायीले दिने सवारी साधनको सङ्ख्या र सम्भावित यात्रुको सङ्ख्याका आधारमा निर्णय हुने उनले बताए । उनले भने, “उहाँहरु सबै तथ्याङ्क लिएर आगामी साता आउनु भएपछि मात्रै थप निर्णय हुनेछ ।”

सबैभन्दा बढी यात्रुको चाप काठमाडौँमा रहेकाले पहिले काठमाडौँमा रहेका सवारी साधनको सङ्ख्या र अवस्थाका बारेमा अध्ययन हुने महानिर्देशक हमालले बताए । यहाँ रहेका सवारी साधन पर्याप्त नहुँदा काठमाडौँ बाहिरका रुटमा चलेकालाई समेत काठमाडौँ ल्याएर सञ्चालन गरिने उनको भनाइ छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने विभागको योजना छ । विगतमा भएका गल्ती यस वर्ष हुन नदिइने उनले बताए । उनले भने, “एउटा गाडी भनेर अर्काेमा सिट हुने, छतमा यात्रा गर्नुपर्ने अवस्था यो वर्ष आउन दिइने छैन ।”

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यस वर्ष दशैँका लागि भनेर एउटा पनि नयाँ बस व्यवसायीले नकिनेको बताए । हरेक वर्ष दशैँ अगाडि झण्डै ५००÷६०० सम्म नयाँ बस खरीद हुने गरेको थियो । नयाँ बस नहुँदा अहिले भइरहेकै बसबाट व्यवस्थापन गर्नुपर्ने महासङ्घलाई चुनौती रहेको उनले बताए । पहिले महासङ्घको देशभर सञ्जाल भए पनि अहिले त्यो नरहनु पनि यातायात व्यवस्थापनको चुनौतीका रुपमा रहेको छ । देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनले बताए । उनले भने, “दशैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ ।”

यस वर्ष भाडा वृद्धि नहुँदासम्म अग्रीम टिकट नखोल्ने भनेर महासङ्घले अडान नलिएको उनले बताए । भाडा समायोजन नियमितरुपमा भइरहनुपर्छ भनेर महासङ्घले निरन्तर आवाज भने उठाइरहेको उनले बताए ।

सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ ।

सात वर्षमा बजार मूल्य, बैंकको ब्याजदरमा वृद्धि भइरहेकाले सरकारले त्यसका आधारमा नियमितरुपमा समायोजन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “६५ प्रतिशतलाई आधार बनाएर सात वर्षदेखि भाडा समायोजन भएको छैन ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ