arrow

धमाधम गाडी किनेपछि अख्तियारले माग्यो किनेको कागजात

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ २३ सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

डोटी । जिल्लाका नौ वटा स्थानीय तहहरुले खरीद गरेका यातायातका साधनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको ध्यान गएको छ । आफूखुशी यहाँका स्थानीय तहले धमाधम गाडी किनेको समाचार प्रकाशित तथा प्रशारित भएपछि आयोगले डोटीका सबै स्थानीय तहसँग सवारी साधन खरीदसम्बन्धी कागजपत्र पेश गर्न माग गरेको बताइएको छ ।

यातायातका साधन खरीदमा मनोमानी गरेको भन्दै स्थानीय तहसँग आयोगको कञ्चनपुर कार्यालयले कागजात माग गरेको जनाइएको छ । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले स्थानीय तहले सवारी साधन खरीद गरेको बारेमा धेरै उजुरी आएकाले सवारी साधन खरीद प्रक्रियासँग सम्बन्धित कागजपत्र माग गरेको बताए । उनले भने, “गाडी खरीदको विषयमा उजुरी परेपछि हामीले कागजात मागेका छौँ, केही स्थानीय तहले कागजपत्र बुझाइसकेका छन्, केहीले अब बुझाउँछन् होला ।”

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका स्थानीय तहले २०७४ साउनदेखि २०७५ पुस मसान्तसम्म रु १० करोड ९३ लाख ८६ हजार मूल्यका सवारी साधन खरीद गरेका छन् । डोटीको जिल्लाको पूर्वीचौकी गाउँपालिकाले सवारी साधन खरीदमा सबैभन्दा बढी खर्च गरेको छ ।

पूर्वीचौकी गाउँपालिकाले रु दुई करोड ६७ लाख ५५ हजार गाडी खरीदमा खर्च गरेको छ । दश मोटरसाइकल खरीदमा रु २४ लाख ९७ हजार २००, पिकअप जीप खरीदमा रु ३७ लाख २० हजार, एक्जाभेटर खरीदमा रु एक करोड २३ लाख ६२ हजार तथा दुई वटा बस खरीदमा रु ८१ लाख ७६ हजार खर्च भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै शिखर नगरपालिकाले सवारी साधान खरीदमा रु एक करोड ५४ लाख २९ हजार खर्च गरेको छ । दिपायल सिलगढी नगरपालिकाले सवारी साधन खरीदमा रु एक करोड छ लाख ८७ हजार खर्च गरेको छ भने बडीकेदार गाउँपालिकाले रु एक करोड ८१ लाख ७९ हजार खर्च गरेको देखिएको छ ।

त्यसैगरी सायल गाउँपालिकाले रु एक करोड ५६ लाख १६ हजार, केआइसिंह गाउँपालिकाले रु ९३ लाख ८२ हजार, बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार, जोरायल गाउँपालिकाले रु ५८ लाख ३८ हजार तथा आदर्श गाउँपालिकाले सवारी खरीदमा रु ५७ लाख २२ हजार खर्च गरेको देखिएको छ । स्थानीय तहले खरीद गरेका एउटै कम्पनी तथा एउटै खालका सवारी साधनको मूल्य भने फरकफरक रहेको पाइएपछि अख्तियारमा उजुरी परेको हो ।

एउटै कम्पनी तथा एउटै खालका सवारी साधनको मूल्य कसरी गाउँपालिकामा फरकफरक भयो यो विषयमा डोटीमा निकै खैलाबैला मच्चिरहेको छ । जनताको विकासका लागि आएको बजेट स्थानीय तहका जनप्रतिनिधिले आफूखुशी गाडी किन्नमै सकेको भन्दै यहाँका स्थानीय निकै आक्रोशित भएको दिपायलका स्थानीय जगतबहादुर बमले बताए । उनले भने, “विकासका लागि आएको बजेटमा जनप्रतिनिधिले आफ्नो स्वार्थका लागि खर्च गर्नु राम्रो पक्ष होइन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ