arrow

कांग्रेसको यो जागरणले देशैभरि जनता जगाउने छ : सहमहामन्त्री डा.महत

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
prakashsaran-_mahat.jpg

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले आजदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानले देशैभरि साँचो अर्थमा जागरण ल्याउने बताएका छन्। कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण आभियानको काठमाडौ क्षेत्र नं ५ प्रदेश ‘ख’ द्वारा आयोजित कार्यक्रमार्फत शुभारम्भ गर्दै डा.महतले भने–यो अभियानले देशमा साँचो अर्थमा जागरण ल्याउने छ, यसले कांग्रेसका कार्यकर्ताहरुमा मात्र होइन कि देशैभरि जागरण ल्याउने छ, सबै नेपाली जनता जगाउने छ।

आजदेखि शुरु भएको राष्ट्रिय जागरण आभियानको पहिलो कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री डा.महतले यो जागरण नेपालमा कम्युनिष्ट सरकारका ज्यादतिको भण्डाफोर र देशका प्रजातान्त्रिक संरचनाहरुको संरक्षण र सम्बद्र्धनको पक्षमा हो भने।

मर्यादा भित्र रहेर र प्रक्रियालाई आत्मसात गरेर नै नेपाली काँग्रेसले देशको प्रमुख पतिपक्षी दलको भूमिका निर्वाह गरिरहेको भए पनि सरकारले आफ्ना अनियमितता र ज्यादतिहरुलाई नरोकेकोले काँग्रेसले आजदेखि यो सशक्त अभियान थालेको बताए। 

उनले भने–अब हामी सदन र सडक दुवै ठाउँबाट सशक्त तर मर्यादित रुपमा विरोधका कार्यक्रम गर्नेछौँ र आजदेखि शुरु भएको यो राष्ट्रिय जागरण अभियान देशैभरि, जनताका घर घरमा पुगेर वर्तमान सरकारका केन्द्रदेखि वडा तहसम्मका ज्यादति र भ्रष्टाचारको भण्डाफोर गर्नेछ।

देशमा आजदेखि १५ दिनसम्म ३३० स्थानमा यस्ता जागरण अभियानका कार्यक्रमहरु हुने र त्यसमा काँग्रेस पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरुले जनताका गुनासा सुनी सरकारका अनियमितताहरुको भण्डाफोर गर्नेछ–उनले भने।

जनताका पिरमर्का, समस्या र गुनासा सुन्न सरकार गाउँ टोलसम्म पुग्न नसकेको, सरकार संस्थागत भ्रष्टाचारमा लागेर जनतालाई आश्वासन मात्र बाँड्न लागिपरेकोले कांग्रेसले जनताको घर आँगनमा जाने कार्यक्रम तय गरेको उनको भनाई थियो।

सहमहामन्त्री डा.महतले भने–कम्युनिष्टहरुको काम भनेकै पूरा नहुने सपनाहरु बाँड्नु हो, जुन अहिलेको कम्युनिष्ट सत्ताले गरेको छ, त्यसैले यो सरकारबाट देशमा समृद्धि आउँदैन भन्नेमा काँग्रेसमात्र होइन, सिंगो देश नै जानकार भइसकेको छ।

सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा जनतामा भ्रम मात्र छरेकोले कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरि अब देशव्यापी रुपमा लागिपर्ने उनको दाबी थियो। उनले भने–‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात गर्दै अघि बढ्छौं, पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने काम गर्नेछ। 

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सरकारले ब्रम्हलुट मच्चाएको र वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनतालाई समृद्धिको सपना बाँडेर सरकारले देशमा भ्रष्टाचारका काण्डैकाण्ड मच्चाएको आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ