arrow

‘कम्युनिस्ट कर्मचारी’लाई छानी छानी निजामती पुरस्कार, गृहसचिवका भाइले पनि पाए एक लाख

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७६ भदौ २६ बिहिबार
premkumar-rai.jpg

काठमाडौं। सरकारले यस वर्षको निजामती पुरस्कार छानी छानी नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारीलाई दिएको छ। 

भदौ २३ गते सरकारले निजामती दिवस मनायो। कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए । गृह सचिव प्रेम राई पनि कार्यक्रममा थिए । कार्यक्रममा एक लाख रुपैयाँ बराबरको उत्कृष्ट निजामती पुरस्कार गृहसचिव राइका भाइ रोशन राइले पाएको घोषणा गरियो । रोशन हाल निर्वाचन आयोगमा कार्यरत छन्। उनी नायवसुब्बा तहका कर्मचारी हुन् । 

सरकारले विगतमा वर्षहरु झै यस वर्ष पनि १० जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कारको घोषणा गर्‍यो भने ३० जनालाई निजामती पुरस्कारको घोषणा गर्‍यो। उत्कृष्ट कर्मचारी पुरस्कार एक लाख रुपैयाँ बराबरको छ भने निजामती पुरस्कार ५० हजार रुपैयाँ बराबरको छ । दुइ लाख रुपैयाँ बराबरको सर्बोत्कृष्ट कर्मचारी पुरस्कार भने सरकारले यस वर्ष पनि घोषणा गरेन। विगत तीन वर्षदेखि सर्बोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गरिएको छैन । 

उत्कृष्ट कर्मचारी पुरस्कार पाउने १० जना कर्मचारीहरुमध्ये ८ जना कर्मचारी नेपाल कम्युनिस्ट पार्टी  निकट छन् । कांग्रेस निकट कर्मचारी एक जना मात्र छन्। एक जना कर्मचारी आस्थाको आधारमा खुलेका छैनन् । तत्कालिन नेकपा (एमाले)को कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन तथा तत्कालिन (माओवादी केन्द्र ) निकट राष्ट्रिय कर्मचारी संंगठनसँग निकट कर्मचारीहरुले मात्रै उत्कृष्ट कर्मचारी पुरकार पाएका छन् ।

उत्कृष्ट कर्मचारी पुरस्कार पाउनेहरुमा प्रधानमन्त्री कार्यालय, निर्वाचन आयोग, महालेखा परिक्षकको कार्यालय, अख्तियार दुरुपायोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सर्वोच्च अदालत, महालेखा नियन्त्रण कार्यालय जस्ता पहुँचवाला कार्यालयका कर्मचारी मात्र छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघका उपमहासचिव दुर्गा फुयाँलले प्रभावशाली निकायका प्रभावशालीहरुलाई मात्र पुरस्कार दिने कार्य काले काले मिलेर खाउँ भाले भनेजस्तै भएको बताए। पुरस्कार छनौट समितिले पनि धेरै जसो वद्नामहरुलाई चोख्याउने गरि पुरस्कार सिफारिस गरेको उनले दावी गरे। कार्यालय सहायकलाई दिने पुरस्कार पनि ४ जना नै चालकलाई दिइएकोमा उनको तर्क अझ रोचक थियो। फुयाँलले  भने, ' सबै अनियमितताको साक्षी चालकहरु रिसाउलान भनेर खुसी पार्न का्यालय सहायकहरुको पुरस्कार सबै चालकहरुलाई दिइयो ।'

प्रधानमन्त्री कार्यालयका दुई जना कर्मचारी दिनेशकुमार घिमिरले र कृष्णगोविन्द महर्जनले पुरस्कार पाएका छन् । दुवै जना कर्मचारी नेकपा निकट हुन्। घिमिरे प्रधानमन्त्री कार्यालयका सहसचिव हुन् ।

संघीय मन्त्रालयका सहसचिव केदार पनेरुले यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार पाए । पनेरु यस अघि समायोजन महाशाखाका प्रमुख थिए । समायोजन परिमार्जन गर्ने नाममा उनले नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारीलाई रोजेको ठाउँमा पठाउने र कांग्रेस निकट कर्मचारीलाई अरुले छाडेको ठाउँमा पठाउने काम गरे । त्यस वापत उनले पुरस्कार पाए–स्रोतले भन्यो । उत्कृष्ट कर्मचारी पुरस्कार पाउने अन्य कर्मचारीहरुमा गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा तथा परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का पनि हुन् । ती दुबै कर्मचारी नेपाल कम्युनिस्ट पार्टी निकट मानिन्छन् । 

निजामती पुरस्कारमा पनि आफ्नालाई
सरकारले घोषणा गरेको निजामती पुरस्कार पनि आफ्नालाई वढी दिइएको छ। निजामती पुरस्कार पाउनेहरुमध्ये अधिकांश नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी छन् । 

सरकारले ३०जना कर्मचारीलाई निजामती पुरस्कारको घोषण गर्‍यो । ती मध्ये ७ जना कर्मचारी मात्र नेपाली कांग्रेससँग निकट भनेर चिनिन्छन्। कांग्रेस निकट भनेर चिनिएका कर्मचारीहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वरिष्ठ तथ्याकं अधिकृत दिनेश भट्टराई, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे,राष्ट्रपति कार्यालयका उपसचिव केशव घिमिरे, उद्योग वाणिज्य मन्त्रालयका शाखा अधिकृत भास्कर दाहाल,संघीय मामिला मन्त्रालयका विकास सुन्दास, लोकसेवा आयोगका उपसचिव पूणमान श्रेष्ठ,महालेखा नियन्त्रण कार्यालयका सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटा तथा महिला मन्त्रालयकी शाखा अधिकृत शोभाकुमारी पोखरले मात्र छन् ।

सञ्चार मन्त्रालयका उपसचिव महेन्द्रमान साँखी, गृहमन्त्रालयका उपसचिव रुद्र प्रसाद पण्डित, रक्षा मन्त्रालयका डिल्लीराम भट्टले पनि यस वर्षको निजामती पुरस्कार पाए। जुन कर्मचारी कम्युनिस्ट निकट भनेर चिनिन्छन् । बाँकि अरु कर्मचारी पनि नेपाल कम्युनिष्ट पार्टी निकट भनेर चिनिन्छन् । 

ओली सरकारले पछिल्लो समय निजामती कर्मचारीहरुमा आस्थाको आधारमा भेदभाव गर्न थालेको छ। महत्वपूर्ण कार्यालय तथा महत्वपूर्ण जिम्मेवारीमा नेपाल कम्यनिस्ट निकट कर्मचारीलाई खटाइएको छ भने कांग्रेस निकट कर्मचारीलाई सकेसम्म कम आकर्षक मानिने जिम्मेवारी तथा कार्यालयहरुमा पठाउने गरिएको छ । जसबाट दुई तिहाइ सरकारको आतंक कांग्रेस निकट कर्मचारीले भोग्नु परेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ