arrow

आक्रमण गर्ने र गराउने नेकपाका नेता कार्यकर्ता बिरुद्ध बाँके कांग्रेसले किटानी जाहेरी दिदै 

logo
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
Kiran-koirala.jpg

नेपालगञ्ज। नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला सहित कार्यकर्ताहरुमाथि आक्रमण गर्ने तथा गराउनेहरु माथि बाँके कांग्रेसले किटानी जाहेरी दिने भएको छ। नेपाली कांग्रेस बाँकेले विरोध कार्यक्रम सहित आक्रमणकारी विरुद्ध किटानी जाहेरी दिने भएको हो। नेपाली कांग्रेस बाँकेका सदस्य शुधांशु कोइरालाले जिल्लाभरका कार्यकर्ता र शुभेच्छुकहरुलाई विरोध कार्यक्रममा बोलाइएको बताए।

प्रहरीले आक्रमणकारीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए।

सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो। नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो। 

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो। सो अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ। बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं २ को खजुरा गाउँपालिका वडा नं २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गापा वडा नं १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३(१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी सांघातिक हमला गरेका हुन्।

उनिहरुले “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेका हुन्। घटनाको नेपाली कांग्रेसले निन्दा र भत्सर्ना गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गर्दै  आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्।

घटनामा दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन्। नेकपाका ५०-६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए। ' यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ। राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ' विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ