arrow

बाँके घटनाका दोषीलाई कारवाही गर्छु : गृहमन्त्री

logo
रासस,
प्रकाशित २०७६ भदौ २८ शनिबार
rambahadur-thapa.jpg.jpeg

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन्। नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन्। “हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उनले भने।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए। घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाई थियो।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काङ्ग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए। काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली काङ्ग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए। यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उहाँको आरोप थियो। काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको बताएका छन्।

काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ। उक्त घटनामा परी काङ्ग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ