arrow

एनओसीमा फेरि पनि जीवनराम, को को निर्वाचित, कसको कति मत ? 

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
jeewanram-shrestha.JPG

काठमाडौँ  । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित भएका हुन् । 
     
 कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए । त्यस्तै उमेशलालले १० मत प्राप्त गरे । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा लगातार दुई कार्यकाल निर्वाचित भएका हुन् ।      
     
त्यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा २६, तेजबहादुर गुरुङ २०, अशोकराज बज्राचार्य १५, सुनिल श्रेष्ठ १८ र चतुरानन्द वैद्य २२ मतसहित विजयी भए । पाँच उपाध्यक्षका लागि आठ जनाले प्रतिस्पर्धा गरेका थिए ।     
     
 त्यसैगरी महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनले १५ मत ल्याए । श्रेष्ठले पुरेन्द्रविक्रम लाखेलाई तीन मतले पछि बनाउँदै महासचिव पदमा निर्वाचित भए । लाखेले १२ मत ल्याएका थिए ।     
     
 सचिवमा रामजी श्रेष्ठ १८, दीपकहर्ष बज्राचार्य २५ र तुलसी थापा २१ मत ल्याएर निर्वाचित भए । तीन सचिवका लागि चार जनाले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकूद परिषद् राखेपका पूर्वसदस्यसचिव केशवकुमार विष्टले १७ मत ल्याएर पराजित भए ।     
     
 उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध भएका थिए । सदस्यमा रमेशप्रसाद शिवाकोटी २६, राम अवाले २०, प्रकाशशम्शेर राणा २६, गोपालसुन्दरलाल कक्षपति २६, टाँसी घले २४, होमबहादुर दोङ २५ र दीर्गबहादुर केसी २६ मत प्राप्त गर्दै निर्वाचित भए ।     
     
 सात सदस्यका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भए । उनले नौ मत प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ