arrow

लोकतान्त्रिक गणतन्त्रलाई वद्नाम गर्ने सरकारी 'भिजिलान्ते मण्डले'हरु

लोकतन्त्रप्रति साच्चैको निष्ठा हो भने माफी माग योगेश

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ भदौ २९ आइतबार

काठमाडौं। शनिवार साँझ नेपालगञ्जबाट शुरु भएको हाइभोल्टेज ड्रामा आइतवार दिउँसोसम्म जारी रह्यो। यो ड्रामामा नेपाली राजनीतिका एक आशलाग्दा भनिएका नेता नराम्रोसँग विवादमा तानिए। मन्त्री समेत रहेका योगेश भट्टराई विवाद भएको स्थान नेपालगञ्जमा रहँदासम्म ठिकै थिए। तर काठमाडौं झर्न नपाउँदै उनले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया र त्यसपछि उत्पन्न प्रतिक्रियाको सिलसिलाले एउटा नेताको राजनीतिक जीवन र उनको लोकतन्त्रप्रतिको निष्ठालाई नै कठघरामा खडा गरेको छ। 

नेपालगञ्जमा सुझवुझपूर्ण रहेर प्रतिक्रियाविहिन भएका भट्टराई काठमाडौं आइपुग्दा आफ्नोतर्फबाट भएको कमजोरीका लागि क्षमा माग्दै प्रतिक्रिया देलान भन्ने अपेक्षा थियो। अपेक्षा अनुसार काठमाडौं आइपुग्दा प्रतिक्रिया पनि आयो तर ट्वीस्ट भएर। उनले भने, ' नेपालगंज बिमानस्थलमा ३-४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो। एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहाले। सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु। मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु।' 

भट्टराईले आफ्ना कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु भनेको भए मात्र उनको बडप्पन देखिन्थ्यो। तर उनले आफैलाई विवादमा तानिरहन खोजे। थप विवाद बढाउने उनको प्रतिक्रियालाई प्रतिवाद गर्न ज्ञानेन्द्र भनिने ज्ञान बहादुर शाहीले पत्रकार सम्मेलन गर्ने घोषणा गरेका थिए। तर उनले पत्रकार सम्मेलन गर्ने भनिएको ठाउँमा आइतवार दिउँसो जुन किसिमको हर्कत पत्रकारको खोल ओढेर गएका सरकारी भिजिलान्ते मण्डलेहरुले गरे त्यो लोकतन्त्रलाई लज्जित तुल्याउने घटना थियो। 

लोकतन्त्र भनेको लोकतन्त्रकै विकल्प खोज्नेहरुका लागि समान अवसर प्रदान गर्ने व्यवस्था हो। लोकतन्त्रको आन्दोलनमा सडकमा लडिरहेका बेला विगतमा जसरी भिजिलान्ते मण्डलेहरु आन्दोलनकारीमाथि वर्सिने गर्थे सोहि शैलीमा ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा पत्रकारको मुखौटा ओढेर आएका सरकारी भिजिलान्ते मण्डलेहरुले गरेका छन्। लोकतन्त्रीक चरित्र भएकाहरुले आफ्ना विरुद्ध भएका कुराहरु पनि सुन्ने धैयता राख्नुपर्छ। मन्त्री भइसकेकाहरुले झन पदीय मर्यादा र दायित्यलाई ध्यानमा राखेर अझ बढी विनयभाव राख्न सक्नुपर्छ। असहमत हुने पक्षको अधिकारको लागि समेत लड्ने दृढता सच्चा लोकतन्त्रवादीहरुले देखाउन सक्नुपर्छ। तर दुई दिन अघी ७० बर्ष पुग्न लागेकी आमा किरण कोइरालालाई हात भाच्ने गरि कुट्ने आँट गर्ने पार्टीका नेता कार्यकर्ताबाट यो आस गर्न सकिएन। विगतमा सरकारी आडमा गुण्डागर्दी गर्ने मण्डलेहरुले झै योगेशका केटाहरु भिजिलान्ते मण्डले बनेर आफ्ना विरोधीको कार्यक्रम भाड्न तथा तिनको करङ गन्न गए।  

नेपालगञ्जमा शनिवार ज्ञानेन्द्र शाही र मन्त्री भट्टराईसँग जोडिएको घटना हुनु अनि आइतवार पत्रकारको मुखौटा ओढेर गएकाहरुले शाही माथि आक्रमण हुनुले नेकपाका नेता समेत रहेका मन्त्री भट्टराईको सार्वजनिक छवी र भित्री रुपको विरोधाभाषपूर्ण व्यवहारलाई उदाङगो पारेको छ। मन्त्री भट्टराईले यति चाडो यो स्वरुपमा रीस प्रकट गर्लान र विरोधी आवाजलाई वन्द गराउन खोज्लान भन्ने आम अपेक्षा गरिएको थिएन तर यहाँ उनले विद्यार्थी राजनितिबाट आएको धङधङी देखाएरै छाडे । आफूलाई मन पराउनेहरुले पनि यस किसिमको हर्कत गर्लान भनेर सावधानी अपनाउनु पर्ने थियो उनले। तर त्यस्तो भएन। सरकारी सुरक्षाकर्मीको व्याकअपमा अखिलका केटाहरु लगाएर भट्टराईलाई रामधुलाई गरेका ज्ञानेन्द्रलाई रामधुलाई गरियो। प्लेन ढीला गरेको निहुँमा योगेशलाई झपारेका ज्ञानेन्द्रहरुले सामाजिक सञ्जालमा भिडियो राख्दा रामधुलाई शब्द प्रयोग गरेका थिए। तर साच्चिकै रामधुलाई भनेको यस्तो हुन्छ भने झै गरेर भट्टराईका कार्यकर्ताले नाङगो नाच नाचे।  

पत्रकार सम्मेलन अघि नै शाहीलाई प्रहरीले नियान्त्रण गर्ने प्रयास गरेको थियो। उनकै फेसबुक एकाउन्टबाट गरिएको लाईभमा  नेपालगञ्जमा मन्त्रीसँग जोडिएको प्रकरणमा आफुलाई नियन्त्रण गर्न खोजिएको बताएका थिए। त्यसपछि पत्रकार सम्मेलनमा उपस्थित भएका उनलाई सुरुदेखि नै हुलहुज्जत गर्ने कोशिस गरिएको थियो। पत्रकारको आवरणमा आएका नेकपा तथा मन्त्रीका कार्यकर्ताहरुले आक्रमक शैलीमा खेद्न थालेर शाहीलाई रक्षात्मक बनाएका थिए। पत्रकार सम्मेलनमा पत्रकार भन्दा अघी आएर उनीहरुलाई काम गर्न वाधा पुर्‍याउने मात्र होइन पत्रकारकै खोल ओढेका ती सरकारी भिजिलान्ते मण्डलेहरुले पत्रकारीता पेशालाई पनि वद्नाम गरे।

 

पत्रकारको आवरणमा आएका मध्ये एकले घर, पढाई लगायतका प्रश्न गरेका थिए भने अर्का एकले नाम किन ज्ञानेन्द्र राखेको भन्दै प्रश्न गरेका थिए। आफ्नो नाम ज्ञान बहादुर शाही भएको र बोलिचालीमा ज्ञानेन्द्र भनेर बोलाइने गरेको प्रष्टीकरण दिदैँ गर्दा पत्रकार सम्मेलनमा रहेका एक जनाले पुष्पकमल दाहाललाई प्रचण्ड भनेको जस्तै उनलाई ज्ञानेन्द्र भनेको जबाफ दिन नपाउदैँ तनाव उत्पन्न गरियो। यो तनाव पनि नियतवश थियो। फेसबुक लाइभमा सबै प्रत्यक्ष थियो। आक्रमण गर्नै खटिएका उनिहरुले निहुँ खोज्दै खोज्दै आक्रमणमा उत्रेका थिए। तनाव बढ्दै जादा प्रश्न सोध्नेहरु नै नाराबाजी सहित कुटपिटमा उत्रिए। हेलमेट समेत लगाएर समुहमा आएका उनिहरुले कुटपिट गरिरहदा प्रहरी पत्रकार सम्मेलनमै थियो।

घट्नापछि शाही निकटहरुले नियोजित रुपमै मन्त्रीले आक्रमण गराएको आरोप लगाएका छन्। नागरिकले प्रश्न गरेको विषयमा भड्किएर राज्यशक्तीको आडमा  कार्यकर्ता परिचालन गरी आक्रमण गर्ने कार्यले मन्त्री भट्टराईको फाँसीवादी चरित्रको उदाङ्गिएको उनिहरु आरोप रहेको छ। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार, विधीको शासन लगायत लोकतन्त्रका आधारभुत मूल्य र मान्यताका लागि लडेका मन्त्री भट्टराई र उनको कार्यकर्ता पङती यसरी विरोधी बिरुद्ध नाङगो नाच गर्न उद्यत होला भन्ने आम भावना विपरित उनको टोलीको यो हर्कत कत्ति पनि प्रिय छैन। अझ पत्रकार सम्मेलनमा पत्रकारको आवरणमा भिजिलान्ते मण्डले पठाउने कार्यको कहि पनि समर्थन गर्न सकिदैन। साच्चिकै लोकतन्त्रप्रति थोरै भएपनि निष्ठा बाकी छ भने योगेश भट्टराईले यो घटनामा विनाशर्त माफि माग्रनुपर्छ। माफि माग्नुमै योगेश तिम्रो बडप्पन देखिन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ