arrow

स्थानीय तहका मनमुटाव आफै मिलाउन कार्यकर्तालाई डा.महतको निर्देशन

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
pra.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको स्थानीय तहमा कुनै मनमुटावहरु भएमा आफै मिलाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ द्वारा मंगलबार बिहान आयोजित दोस्रो चरणको जागरण अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– कार्यकर्ताहरुमा स्थानीय तहमा कुनै पनि मनमुटावहरु छन् भने आफैले मिलाउने प्रयत्न गर्नु, तपाईँहरुको प्रयास पनि आवश्यक छ, पछिल्लो समय हेर्नुस केन्द्रमा पनि कांग्रेसले हरेक निर्णय सहमतिबाटै गर्ने गरेको छ ।

पार्टी सभापतिले पछिल्ला निर्णयहरु पार्टीमा सहमति गर्ने कोशिस गर्नुभएको छ, सहमतिकै आधारमा निर्णय गर्ने गर्नुभएको छ, सहमतिका लागि उनले प्रयत्न गरिरहनुभएको तपाईहरुले पनि देख्नु भएकै होला, त्यसैले अब केन्द्रदेखि स्थानीय तहसम्मकै सबै असहमतिहरुलाई आफैले मिलाउने प्रयत्न गर्नुपर्छ ।
कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री डा.महतले दोस्रो चरणको जागरण अभियान देशैभरि जनताको टोल टोलमा पुग्ने र यसले नेपाली जनता जगाउने धारणा राखे ।

उनले भने– पहिलो चरणको अभियान जिल्लाका अगुवा कार्यकर्तालाई लक्ष्य गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम जनताको टोलटोल र घर घरमा पुग्ने छ, त्यसैगरी तेस्रो चरणको जागरण अभियान नगर र गाउँपालिकालाई लक्ष्य गरिने उनले बताए । उनले तेस्रो चरणको जागरण अभियान पुस महिनामा सुरु गरिने र त्यो अझै व्यापक र देशव्यापी हुने धारणा उनले राखे ।

उनले कार्यकर्ताहरुलाई उच्च मनोबल र साहसका साथ काम गर्न पनि आग्रह गरे । उनले भने– जनताले दिएको मतका आधारमा अहिले पनि कांग्रेस नै देशको सबैभन्दा ठूलो पार्टी हो, तपाईँहरुले पार्टी हारेको छ भन्ने कुनै कुण्ठा पाल्ने कुरा छैन, एकताबद्ध भएर काम गर्नु अर्को चुनावमा जित हाम्रै हो ।
बीपी जयन्तीदेखि सुरु भएको अभियान देशभर कुनाकन्दरामा पुग्दैछ । कांग्रेस गाउँगाउँ र टोलटोलसम्म जोडिँदैछ– डा महतले भने ।

कांग्रेस प्राविधिक रुपमा निर्वाचनमा पराजित भएपनि सदैव जनतामाझ रहन्छ भन्ने सन्देश अभियानले दिएको उनको दाबी थियो ।
कांग्रेस आत्तिने र मात्तिने पार्टी नभएको उनको भनाई थियो । चुनाव जितरे मात्तिएका कम्युनिष्टहरुले नै जनतामाथि दमन गर्ने र निरंकुश व्यवहार देखाउँदैछन् उनले भने ।

सरकारका गलत कामविरुद्ध जनताले खबरदारी गर्न खोज्दा देशमा प्रतिगमनको खतरा देख्ने वर्तमान सरकारको कमजोर मानसिकता मात्र हो उनले भने ।
सरकारले एकपछि अर्को गरी जनविरोधी कामहरु गरिरहेको, भ्रष्टाचारका काण्डैकाण्डमा फसेको तर जनताका आधारभूत आवश्यकताहरुमा भने सरकार सधैँ गौँण बस्ने गरेकोले जनतामा निराशा र आक्रोस बढिरहेको डा.महतले बताए ।

सरकारका जनविरोधी काम र ज्यादतीका विरुद्ध जनता जगाउन अब कांग्रेसका नेता कार्यकर्ताहरु थप सक्रिया र एकजुट हुनुपर्ने उनको भनाई थियो ।नेपाली कांग्रेसले नेपालगन्जमा गरेको शान्तिपूर्ण सभामा गरेको हमलाको घटना वर्तमान सरकारको अधिनायकवादी चरित्रको एउटा उदाहरण भएको डा.महतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ