arrow

आचार्य निवासमा “वीपीको साहित्य” मा छलफल

वीपीले आफूलाई अधुरो भन्थे भने हामीत बाह्रखरीका बिद्यार्थी: गुरु घिमिरे

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
bp-koirala-11.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरी आचार्य निवासमा यो हप्ता वीपीको साहित्यमा चर्चा भएको छ। छलफलमा आचार्यले वीपीले साहित्य मात्रै लेखिदिदा उहाँलाई नभेटेका मानिसले पनि उहाँलाई बुझ्न सजिलो भएकोे उल्लेख गर्दै अहिले वीपीको साहित्यको प्रभाव कस्तो रहेको छ भन्नेमा अध्ययन हुनुपर्ने बताए।

कांग्रेसको सभापति र प्रधानमन्त्रीका रुपमा पार्टी र देशको नेतृत्वसँगैनेपालमा लोकतान्त्रिक विचारको मात्र होइन, विचारधाराको तहमा पुगेर वीपीले योगदान गरेको आचार्यले स्मरण गरे । आचार्यले भने, ' नेपाली साहित्यमा पनि वीपीको योगदान विशिष्ट रह्यो । कथा, उपन्यास, जीवनी, डायरी, कविता सबैमा उहाँले लेख्नु भएको छ । राजनीतिक दर्शन र विचारधारायुक्त लेखहरु थुप्रैै लेख्नु भएको छ, किताव छैन । म २५ वर्षको हुँदासम्म एउटा राजनीतिक गतिलो किताव लेखिदिए हुनेनी भन्ने लागि रहेको थियो । वीपीको शेष पछि विभिन्न संग्रहरु बाहिर आएका छन् । साहित्य भन्दा विचारधाराको संग्रह नै बढी भएको छ । उहाँ आफैले चाहीँ लेख्नु भएन किन ? भन्ने आशंका छ । त्यसैले वीपीको साहित्यलाई कसरी हेर्ने कसरी अध्ययन गर्ने ? कसरी अध्ययन गर्दा उहाँलाई बुझिन्छ । कसरी अहिलेसम्म उहाँको ख्याती भइरहेको हो ? सभापति, प्रधानमन्त्री अरु भए पनि उहाँको जत्तिको महत्व अरुको भएको छैन । किन यस्तो भयो ? '

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले वीपीको कुरा गर्ने वित्तिकै राजनीति र साहित्य समानान्तर रुपमा आउने बताए। उनले भने, 'हाम्रो उमेरकाले वीपीको साहित्य पढेर वीपीलाई चिनेको हो । साहित्य र राजनीतिलाई समान उचाईमा लैजाने संसारको अरु नेताहरुलाई हेर्दा भेटिदैन । मण्डेला त्यत्रो समय जेल पर्नुभयो, महात्मा गान्धीको पनि त्यत्रो नाम छ, हामीले जानेका, पढेका अरु अग्ला राजनीतिज्ञमा लेखनको धेरै दख्खल देखिदैन । वीपी जो १४ वर्षदेखि जेल पर्‍यो, भारतीय स्वतन्त्रता संग्राममा जसले २० वर्ष योगदान गर्‍यो, जो आठ वर्ष राजाबाट थुनियो, जो फेरि ८ वर्ष प्रवासमा बस्यो, जसलाई ३५ वर्षमा नै घाँटीको क्यान्सर लाग्यो । त्यो व्यक्तिले यतिधेरै नेपाली राजनीतिको मियो बनेर डोर्‍याउनु भयो र साहित्यमा शिखर पुरुषका रुपमा स्थापित गर्नुभयो । यो संशारकै दुर्लभ उदाहरण हो वीपी कोइराला ।'

वीपीका दोषी चस्मा, तिन घुम्ती, बाबु आमा र छोरा, नरेन्द्र दाइ साहित्यमा अभुतपूर्व प्रयोग रहेको उल्लेख गर्दै घिमिरेले भने,' सबैदृष्टिबाट पुरुष लेखकले नारिको मनोविश्लेषण गरेको छ, नारिका बारेमा यतिराम्रो चित्रण गरेको छ, त्यो चाही नेपाली राजनीतिमा जुन क्रान्तिकारीता प्रदर्शन गर्नुभयो उत्तिकै नेपाली साहित्यमा पनि क्रान्तिकारीता प्रर्दर्शित गर्नुभयो । उहाको चन्द्रवदन कथाबाट सुरुभएको साहित्यिक यात्रा हरेक चरणमा नयाँ आयाम खडा गरेको छ । हिटलर र यहुदी, मोदी आइन, श्वेतभैरवी, सबै विशिष्ट छन् । वीपीको समग्र राजनीतिको एउटा ग्रन्थ पढ्न पाए हुने भन्ने लाग्छ ।'

'वीपीले समयलाई कहिल्यै खेरजान दिनु भएन । जेलभित्र, प्रवास जहाँ भए पनि साहित्य लेख्नु भयो । भेटेजति सबै पढ्नु भयो ।' उनले भने, 'प्रज्ञाको त्यत्रो भण्डार भएको व्यक्ति वीपी आफुलाई अपुरो, अधुरो जस्तो भनेपछि हामी त बाह्रखरी पनि छिचेलेका छैनौं । '

'परिस्थितिको विवेचना गरेर अगाडि बढ्ने नै राजनेता हुन्छ वीपी कोइरालामा यो क्षमता थियो।' घिमिरेले भने, 'सुम्नीमाको कुरा गर्दा आर्यसभ्यता र किरात सभ्यताको कुरा जस्तो पनि लाग्यो । सोमदत्तको छोरा पुलोमा सुम्नीमाकी छोरी, भिल्लहरु सिङगो दर्शनको सभ्यताको द्वन्द्व त्यहा छ  । सुम्नीमा कोटीको साहित्य सृजना गर्न त्यति सजिलो छैन । वीपीका हरेक साहित्य मदन पुरस्कार पाउन लायक छन् । सुम्नीमा नोवेल पुरस्कार पाउन लायकको कृति छ ।'

कार्यक्रममा राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले तीन घुम्ती, सुम्निमा, मोदी आइन, नरेन्द्र दाइ, दोषी चस्मा, हिटलर र यहुदी हुन् कुनै पनि किताव सबैले पढ्नु पर्ने बताए। उनले भने, ' सबैमा समानता ह्यूम्यान टच छ, कुनै पनि पात्रलाई गिराएर लेखेको छैन । उदाहरणका लागि तिन घुम्ति हेर्नुस खलनायक पात्र रमेश । रमेश भनेको पिताम्बरको साथी उ जेलमा परेपछि साथीको कोठामा आउछ, सघाउछ, श्रीमती इन्द्र मायासँग सम्पर्क हुन्छ । जब गर्भीणी भएपछि रमेश छोडेर हिड्छ । पढ्दा रमेशको पनि मजबुरी, आकर्षण यसरी मनोवैज्ञानीक ढंगले राखिएको छ कि कुनै पात्रप्रति घृणा उत्पन्न हुँदैन । त्यस्तै नरेन्द्र दाइमा एउटा पात्र छ मुनरीया, अर्को पात्र छ गौरी ।

गौरी ८ वर्षमा विवाह भएकी गोरी चिटिक्क परेकी नरेन्द्र दाइकी  श्रीमती छन् सजातिय तिसँग तिनको कहिल्यै सम्बन्ध हुँदैन । गौरीको पीडालाई यसरी  राख्नु भएको छ त्यो भन्दा पनि पीडामा मुनरीया छन् । वेश्यालयमा बसेकी मुनरीयाको दारुणीक चित्र छ । मुनरीयालाई ठूलो न्याय गर्नु भएको छ । गौरीलाई छोड्ने मुनरीयालाई अपनाउने नरेन्द्र दाइको यस्तो प्रेमभाव, स्नेहभाव जगाउछ नरेन्द्र पनि एउटा परिस्थितिको कारण भएको वीपीले देखाउनु भएको छ । असल हुनु ठूलो नहुनु मोदी आइनको सन्देश हो ।

असलले समाजमा सद्भाव बढाउछ ठूलो हुनेले ठुलो र सानो विचको भेद बढाउछ । महाभारतको धर्मयुद्ध थियो अपरिहार्य थियो भन्ने कुरालाई उल्टाउनु भएको छ । मलाई सबैभन्दा मन परेको वीपीको किताव सुम्नीमा हो । सुम्निमामा भौतिकवाद र अध्यात्मवादको ठूलो द्वन्द्व छ । सुम्निमा, सोमदत्त, सोमदत्तको छोराको, सुम्निमाको छोरी र भिल्ल ५ पात्रमा घुम्छ पुरै किताव त्यसमा अद्भूत वर्णन छ । कोशीका किनारको वर्णन छ । प्रकृतिको वर्णन छ । वीपीको कुनै पनि पात्र प्रतिको न्याय सबै भन्दा ठूलो कुरा हो । मेरो वीपी सँगको सानिध्यता राजतन्त्र र प्रजातन्त्र भन्ने किताबबाट भएको हो ।

कार्यक्रममा काठमाडौं कांग्रेस जिल्ला सदस्य रामचन्द्र घिमिरे वीपी राजनीतिमा नेपालका सन्दर्भमा सिद्धान्तकार हुनुभएको बताए। उनले भने,'साहित्यमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र नयाँ शैली दिनु भएको छ । वीपीको उपन्यास तीन घुम्तीमा प्रेमी, पत्नी र आमाको चित्र छ । सुम्नीमा प्रेमविनाको जर्वजस्ती यौन मिलनले मानस कुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रष्ट पारिएको छ । नरेन्द्र दाइ मनोवैज्ञानिक उपन्यास हो । मोदी आइन महाभारत युद्धकथा यसको विषय वस्तु हो । हिटलर र यहुदी हिटलरले निर्दोष यहुदी मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । बाबु आमा र छोरा नेपाली समाज वा पश्चिमा समाजमा पनि नपच्ने कथा श्रृङ्खला छ । कथा दोषी चस्मा मनोविज्ञान एवं चरित्र प्रधान कथा हो । जीवनी आफ्नो कथा राजनीतिज्ञ तथा साहित्यकार वीपी कोइरालाको आत्मकथा हो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ