arrow

शुक्रबारसम्मै वर्षा हुने, काठमाडौंले बुधबार घाम देख्ने छैन, हिले चाडको सम्भावना  

logo
प्रकाशित २०७६ असोज १ बुधबार
weather.jpg

काठमाडौं । यसपटकको चाडबाड हिले हुने सम्भावना बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गर्दै आएको पूर्वानुमानले यसपटकको बडादशैं हिले हुन सक्ने देखिएको हो । 

महाशाखाले बिहीबारदेखि मौसममा सुधार आउने जनाए पनि बुधबार बिहान सार्वजनिक गरेको बुलेटिनले शुक्रबार पनि वर्षा हुने देखाएको छ । बुधबार जुन पूर्वानुमान गरिएको छ त्यही पूर्वानुमान शुक्रबारको दिनलाई पनि गरिएको छ । 

बुधबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

केही स्थानमा भारी वर्षा भएको छ । काठमाडौंमा दिनभर नै वर्षा हुनेछ । मध्य र पश्चिम तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु वासीले बताइन् ।  

काठमाडौंमा मंगलबारदेखि बुधबार बिहानसम्म २३.४ मिलिमिटर वर्षा भएको छ । बुधबार काठमाडौं उपत्यकामा घाम देख्न पाइने सम्भावना नरहेको मौसमविद् वासीले बताइन् । 

बिहानको तापक्रम १९ डिग्री सेल्सियसमात्र रहेको छ । त्यस्तै हल्का हावा पनि चलिरहेकाले चिसो बढेको छ । 

महाशाखाले देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने साथै देशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा नदीहरुमा  पानीको वहाब बढ्न सक्ने भएकाले सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार अरनिको राजमार्गमा पहिरो गएकाले एकतर्फी सवारी सन्चालन भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ । पूर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको छ । 

त्यस्तै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रहेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ