arrow

काठमाडौँ भनेर के गर्नु, बस चढ्न हिउँद कुर्नु परेपछि

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
arniko-highway-bus.jpg.jpeg

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र  छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् ।  

यस्तै साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन । अरुबेला पनि यो सडको अवस्थता उस्तै छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ ।  केराघारीका बासिन्दा सवारीसाधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउछन् ।

जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो । यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुदाँ बोकेरै जहरसिंहपौवा पुर्‍याउनुपर्ने अवस्था छ । “काठमाडौँ भनेर के गर्नु ? बिरामीलाई बोकेरै अस्पताल पुर्‍याउनुपर्छ । सडक छ गाडी चल्दैन”, स्थानीय जीतबहादुर तामाङले भने।  

वडाध्यक्ष सन्तबहादुर वाइवा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउछन् । प्राकृतिक रुपमा रमणीय जहरसिंह पौवासम्म पुग्न निकै कठिन हुन्छ । हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन् । चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँ ठाउँमा खाल्टाखुल्टी छन् । “भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ”, सो सडकखण्डमा यात्रा गर्दै आएका सन्तोष चौलागाईंले भने ।

साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ । लप्सेफेदी र नाङलेभारेमा बर्खाको समयमा बस चल्दैन । “बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ”, चौलागाईँले भने। साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्रे गरिएको थियो । कालोपत्रे गरिएको छ महिना बित्न नपाउँदै सबै उप्कियो । यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङ बताछन् । “हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ