नक्कली तमसुक बनाएर ठग्ने श्याम परदेशी अझ पाँच दिन हिरासतमै
प्रकाशित २०७६ असोज ५ आइतबार
604
Shares
सर्लाही। नक्कली तमसुक बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारविरुद्ध सर्लाही जिल्ला अदालतले आइतवार चौंथो पटक म्याद थप गरेको छ । अदालतले परदेशीविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चौंथो पटक पाँच दिनको म्याद प्रदान गरेको हो ।
परदेशीविरुद्ध अदालतले यसअघि पाँच–पाँच दिन दुई पटक र एक पटक दस दिन म्याद दिएको थियो । पछिल्लो पटक आइतवार थपिएको पाँच दिनको म्याद भने अन्तिम हो । कुनै पनि मुद्दामा अभियुक्तलाई अनुसन्धानका लागि २५ दिन मात्रै न्यायिक हिरासतमा राख्न पाइन्छ । परदेशी अब धरौटी बुझाएर छुट्छन् वा कारागार चलान हुन्छन् भन्ने विषयको टुङ्गो पाँच दिनभित्र लाग्ने छ ।
ठगी गरेको उजुरी परेपछि प्रहरीले परदेशीलाई गत भदौ १५ गते साँझ सदरमुकाम मलङ्गवास्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । परदेशीविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ३८ जना पीडितले ठगी मुद्दा दायर गरेका सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए। आफूहरुले अनुसन्धानका क्रममा सङ्कलन भएको प्रमाण सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको एसपी भट्टराईले बताए।
दिएको ऋण भन्दा बढीको तमसुक बनाउने, दिँदै नदिएको ऋणको समेत कागज बनाउने, नक्कली तमसुकमा उल्लेख भएको ऋण नबुझाए अदालतमा मुद्दा दायर गर्ने गरेको, महिला केटाकेटीलाई अभद्र व्यवहार गर्ने गरेको जस्ता आरोप परदेशीमाथि लागेको छ।