arrow

दसैंको टिकट लिन उही सकस – ‘गाडी कम भए घर छिटोछिटो गैदिनुस्’

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
jamara.jpg

काठमाडौं । यस वर्षको बडादसैंको टिका थाप्न अझै दुई हप्ता बाँकी छ । तर जानेहरुको यात्रा अहिलेदेखि नै सुरु भएको छ । काठमाडौं उपत्यकाबाट २५ देखि ३० लाख नेपालीे चाडबाडका लागि बाहिरिने अनुमान गरिएको छ । 

यसै अनुसार सवारी मिलाउनका लागि सरकार लागिरहेको छ । निजी क्षेत्रले सघाउन थालेको छ । तर गत आइतबारदेखि खोलिएको टिकट बुकिङ भने भद्रगोल देखिएको छ । उचित प्रबन्ध मिलाउन नसक्दा यात्रुले पीडा भोगेका छन् । 

बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरे पनि कतिपय ठाउँका लागि शनिबार राति लाइनमा बसेकाले पनि आइतबार साँझसम्म टिकट पाएनन् । उनीहरुलाई टिकट सकिएको जानकारी दिइयो । 

अर्कातर्फ कतिपय स्थानको टिकट बुकिङ नै खुल्ला गरिएको छैन । गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत विभिन्न स्थानबाट टिकट बुकिङ खोलिएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने आइतबार पहिलो दिन मै झण्डै दुई लाख जनाको टिकट बुकिङ भएको बताए । 

उनले सवारीको अभावका कारण व्यवस्था मिलाउन नसकिएको भन्दै हरसम्भव प्रयास भने गरिरहेको बताएका छन् । 

उनले भने, ‘नयाँ गाडी ल्याउन सकिएको छैन । बैंक ऋण चर्को भयो । पुराना गाडीलाई रिपेयर गरेरै भए पनि राम्रो कन्डिसनमा ल्याएर गाडी थपिरहेका छौं ।’

सरकारले यतातर्फ ध्यान नदिएकाले यातायात व्यवसायी मर्कामा परेको भन्दै उनले जे जस्तो छ त्यसलाई व्यवस्थित गर्न लागिपरेको बताए । 

उनले बुकिङ गर्दा कस्तो गाडी, के गाडी र सकेसम्म नम्बरसमेत पाए लिन समेत आग्रह गरेका छन् । उनले नक्कली टिकट पनि पर्न सक्ने भएकाले उपभोक्तालाई सजग हुन आग्रह गरेका छन् । 

छष्ठीपछि बढी नै चाप हुने भएकाले उनले ‘गाडी कम भए घर छिटोछिटो गैदिनुस्’ भनेर विनम्र अनुरोध समेत गरेका छन् । 

उनले भने, ‘दशैं सबैले मनाउनु पर्छ । गाडीको अभावमा घर जान पाइएन भन्ने नहोस् । सकिन्छ भने एक दुई दिन छिटो गैदिनुस् ।’

यात्रुहरु महंगो रकम तिरेरै भए पनि गन्तव्यमा जान खोज्छन् । त्यसकै फाइदा उठाउन पनि अहिले व्यवसायीले गाडी अभाव देखाएको हुन सक्ने आँकलन गरिएको छ । 

यसकै लागि सरकारले काठमाडौं उपत्यकाभित्र यात्रुका गुनासो सुन्न व्यवस्था पनि गर्दैछ । यातायात व्यवस्था विभागले असोज १० देखि १८ गतेसम्म राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना गरिने तयारी गरेको छ । 

१० गतेअघि नै गुनासो बढेपछि त्यसको सुनुवाइ कसले गर्ने ? यसपटक पनि उही सकसले यात्रुलाई पिरोलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ