ओलीको निर्वाचन क्षेत्रमा ३६ अर्ब विनियोजन, बजेटको दुरूपयोग गरे : रामशरण महत
मुकेश यादव,
प्रकाशित २०७६ असोज ७ मंगलबार
524
Shares
बारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्ट सरकारले राज्यको ढुकुटी सिध्याएर राज्यमाथि अनावश्यक ऋण थपेको बताएका छन् ।
नेपाली कांग्रेस बाराले कलैयामा मंगलबार आयोजना गरेको हिमाल पहाड तराई-मधेश दोस्रो राष्ट्रिय जागरण अभियानको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले सरकारले मुलुकमा भ्रष्टाचार निर्मुल पार्नुको साटो बढवा दिएर भ्रष्टाचार मौलाएको आरोप लगाए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र ३६ अर्ब बजेट विनियोजन गरि सरकारले बजेटको दुरूपयोग गरेको बताए ।
नेपालका कम्युनिष्टहरूले मान्छे मार्ने आन्दोलन गर्दै हत्या हिंसामा उत्रेको पार्टी सरकारमा पनि आएर मन्छे मार्ने मात्र काम गरेको आरोप लगाउदै उनले नेपाली कांग्रेसले मुलुकको स्मृद्धिको लागि आन्दोलन गरि मुलुकमा लोकतन्त्र गणतन्त्रलाई स्थापित गराउंदै संविधान निर्माण गरेको बताए ।
बहुदलिय मुलुकमा नेकपाले चिनको कम्युनिष्ट पार्टीसंग प्रशिक्षण लिने कार्य शंकास्पद रहेको बताए । बाराका सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा भएको जागरण सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादव, जिल्ला सचिव मनोज भट्ट, कलावति पासवान, रामप्रवेश यादव, तरूणदल बाराका अध्यक्ष लुकेश सिंह लगायतले सम्बोधन गरेका थिए ।