arrow

जागरणले कांग्रेसमा छायो उत्साह

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
samsads.jpg

इटहरी । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानमा केन्द्रीय प्रतिनिधि भएर सुनसरी आएका प्रतिनिधिहरुले जागरणले कांग्रेसमा उत्साह छाएको बताएका छन । नेपाल प्रेस युनियन सुनसरीले बुधबार आयोजना गरेको संवाद कार्यक्रममा अधिकांश नेताहरुले गरीब जनताहरु राजनीतिको पहुँचभन्दा टाढा रहेको र जनतामा सरकारबाट आशा मरेको बताएका थिए ।

केन्द्रीय प्रतिनिधि सुवास पोखरेलले मानिसले एउटा व्यालेटमा भन्दा पनि इच्छाशक्तिले चुनाव जित्नुपर्ने तर्क गरे । ‘चुनाव भनेको इच्छाशक्तिले जिते मात्र समृद्धि सम्भव छ,’ उनले भने, ‘गरीबको पहुँचमा राजनीति टाढिएको छ ।’ उनले गरीब जनताको पहुँचभन्दा राजनीति पर रहेको औल्याउँदै अब कांग्रेसले बैचारिक आन्दोलन गर्न आवश्यक रहेको निश्कर्ष निकालेको बताए ।

‘कांग्रेसले आफ्नो परिवारलाई बिर्सने हाम्रो संस्कृति छ,’ उनले अहिलेको राजनीतिक अवस्थाबारे चिन्तन गर्दै भने, ‘अहिले मानिसहरुमा निराशा छाएको छ, जागरण अभियानले उत्साहित बनाएको भएनि सुनसरीमा मात्रै पनि धेरै समस्या छ ।’ उनले सहरका मानिसहरु निराशाबादी तर्फ उन्मुख भएको र गाउँमा बस्ने मानिसहरुको हृदय सफा हुने तर्क गरे ।

त्यस्तै केन्द्रीय प्रतिनिधि बीन बिश्वकर्माले पार्टीभित्रको संरचनात्मक सुधार गर्न जनजागरण अभियान चलाइएको बताए । उनले भने, ‘सुनसरीको राजनीतिक संस्कार उच्च छ, कतिपय ठाउँमा सन्तुलित भएर काम गर्दा पनि मनोविज्ञान गलत हुँदा जनतामा गलत म्यासेज जान्छ ।’ उनले आँफूहरुको बिचार बदल्नुपर्ने बताउँदै भने, ‘हामीहरुले हाम्रो बिचार बदल्नुपर्छ, संगठन मजबुत भयो भने जनताले सोचे अनुसारको विकास गर्न सकिन्छ ।’ उनले जनतामा निराशा छाएकोले उनीहरुको समाधानको विकल्प कांग्रेस रहेको औल्याए ।

त्यस्तै, केन्द्रीय प्रतिनिधि सुकदेव प्रसाद यादबले सुनसरीको पश्चिमी क्षेत्रमा कोशी कटानले कृषि उपज क्षेत्र पनि मासिदैँ गएकोप्रति चिन्ता व्यक्त गरे । कृषि क्षेत्रको उचित संरक्षण नहुँदा कृषक मारमा पर्दै गएको बताउँदै उनले कृषकको समस्याको समाधानका निम्ति कांग्रेस जाग्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश १ की सांसद नवोदिता चौधरीले मुलुक गम्भीर अवस्थामा रहेको बताईन् । ‘प्रदेश सरकारमा दुईतिहाईँको दम्भ रहेको छ,’ उनले भनिन्, ‘कसैसँग सहमति नै नभई बिधेयक पास हुन्छ, जनता करको मारमा परिरहेका छन् ।’ उनले प्रदेश सरकारले कुटनीतिक हिसाबमा छली गर्दैै आएको आरोप लगाउँदै सरकारमा निरङ्कुश शासन रहेकाले कांग्रेसले सडकदेखि सदन तताउने कार्यक्रम ल्याउन आवश्यक रहेको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का संसदीय दलका नेता राजीब कोइरालले अब यथास्थितिबादी सोचबाट निस्कनुपर्ने बताए । ‘हामी सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने दिन आएको छ,’ कोइरालाले भने, ‘कम्युनिष्टले नियोजित ढंगले जनतामाथि आक्रमण गरिरहेको छ ।’ उनले तेस्रो चरणको जनजागरण अभियान अझै भव्य तरिकाले गाउँ–गाउँमा गर्ने बताए । ‘यो कार्यक्रमले जनतामा सकारात्मक प्रभाव पारेको छ,’ उनले भने, ‘अब हामी निराशाबाट निस्कुनपर्ने अवस्था आएको छ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिताराम मेहेता, महासमिति सदस्य राजीब ढुंगाना, केन्द्रीय प्रतिनिधिहरु दिलीप गच्छदार, धन कुमार लिङ्खा, आनन्द सन्तोषी लगायतले बोल्दै कांग्रेसले गाउँ समाजका मानिसहरुसँग प्रत्यक्ष संवाद गरेको बताए । पार्टीलाई कमजोर बनाउने काम बन्द गर्नुपर्ने र सरकारले जनतालाई आश्वासन मात्र दिएको गुनासो बढेकाले जनतासामु सकारात्मक काम गर्नुपर्ने उनीहरुको भनाई रहेको थियो ।
 
कार्यक्रममा सुनसरी क्षेत्र नं. २ का सचिव रमेश पोखरेलले पत्रकारप्रति इङ्गित गर्दै भने, ‘समाजलाई सुसूचित गराउँदा पत्रकारहरुमा पनि जोखिम रहेको छ, त्यसबारेमा पनि कांग्रेसले आवाज उठाउनु पर्छ ।’ उनले जनजागरण अभियानले जनतामा सकारात्मक प्रभाव पारेको बताउँदै आगामी दिनमा पनि जनताको आवाजलाई कांग्रेसले आत्मसाथ गर्नुपर्ने बताए ।

 कार्यक्रममा प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले प्रेस र कांग्रेसबीच मैत्रीपूर्ण सम्बन्ध हुनुपर्ने बताए । ‘हामीले विगतको दिनमा पनि धेरै कार्यक्रमको आयोजना गर्यौँ । कांग्रेस र प्रेसबीचको सम्बन्ध सुमधुर हुनु आवश्यक छ,’ उनले भने, ‘जनताको निष्पक्ष रुपमा आवाज लेख्ने प्रेसमाथि सरकारले आज दमन गरिरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ