भारतीय र नेपाल प्रहरीको साझेदारीमा फरार अभियुक्त पक्राउ
प्रकाशित २०७६ असोज ८ बुधबार
229
Shares
सर्लाही । प्रतिबन्धीत लागूऔषध कारोबारको मुद्धामा फरार रहेका एक अभियुक्तलाई सर्लाही प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा न ९ का महेन्द्र महतो रहेका छन् ।
भारत पञ्जाबको जलन्धरबाट बुधबार भारतीय प्रहरी र नेपाल प्रहरीको साझेदारीमा सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरि सार्वजनिक गरेको हो। गत भदौँ बीस गते हरिवन ट्राफिक पोष्ट अगाडी सवारी चेकजाँच गर्ने क्रममा उनी १४८ पिस लागूऔषध नाइट्राजेपाम सहित पक्राउ परेका थिए ।
उनलाई हिरासतमा लिई अनुसन्धानका लागि गत भदौँ २२ गते म्याद थपका लागि जिल्ला अदालत सर्लाही लगिएको थियो । म्याद थप गरि जिल्ला अदालत सर्लाही बाट बाहिरीने क्रममा अदालतको पर्खाल नाघेर महतो भाग्न सफल भएका थिए।
फरार भएका महतोलाई सोही दिनबाट तिव्र खोजी गरि उनको परिवार, स्थानीय जनप्रतिनिधि तथा भारतिय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महतोलाई पक्राउ गरि आज पुनः म्याद थप गरिएको र लागू औषध तथा थुनाबाट फरार भएको अभियोगमा जिल्ला अदालत सर्लाहीमा मुद्धा चलाईएको सर्लाही प्रहरी उपरिक्षक एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।