गृहमन्त्रीले दिए निर्देशन, हट्ला नौबिसे–कलङ्की सडकखण्डको जाम ?
प्रकाशित २०७६ असोज १० शुक्रबार
601
Shares
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिएका छन् । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै उनले तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध पक्षलाई शुक्रबार निर्देशन दिएका हुन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाललाई शुक्रबार मन्त्रालयमा बोलाएर उनले यातायात आवागमन सहज बनाउने निर्देशन दिए।
उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन पनि भनेका छन् ।
जाममा परेका बिरामीको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन आग्रह गर्दै चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा यात्रुलाई आवश्यक टिकट वितरणमा समेत उनले ध्यानाकर्षण गराए।
उनले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिए।
बैठकमा सरकारी अधिकारीले बिहीबारको जामको तुलनामा शुक्रबार केही सहज रहेको जानकारी गराएका थिए । गृह मन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारीलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न शुक्रबारै निर्देशन दिएको छ ।
उपत्यकाबाट निस्केका सवारीसाधनको चाप बढेसँगै नौबिसे–कलङ्की सडकखण्डमा जाम हुदै आएको छ । दशै लागेसँगै घर फर्किनेहरुको संख्याका बृद्धि भएको छ । दसैंको समयमा झण्डै २५ लाख मानिस बाहिरिने अनुमान गरिएको छ। सो क्षेत्रमा दैनिक हजारौ सवारीसाधन आवतजावत गर्नछन् भने अहिले १५ देखि ३० किलोमिटरसम्म जाम हुदै आएको छ ।