arrow

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘एक वडा एक दलित सहकारी’

logo
केदार मगर,
प्रकाशित २०७६ असोज ११ शनिबार
khotang-district.png

खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालिएको छ । पिछडिएका समुदायमा पर्ने दलित परिवारलाई बचत गर्ने र सो बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालेको हो ।

आर्थिक र सामाजिकरुपमा पछाडि परेका दलित समुदायको उत्थान गर्न ‘दलितसँग सहकारी’ कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बता] । “दलित समुदायमा छरिएर रहेको पूँजीलाई एक ठाउँमा बचत गर्ने र सो रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै उनीहरुको आर्थिकस्तर उकास्ने उद्देश्यले एक वडा एक दलित सहकारी संस्थाको अवधारणा कार्यान्वयनमा ल्याइएको हो”, उनले भने, “दलित समुदायका सदस्य मात्र सहभागी गराएर स्थापना गरिने सहकारीको विधान बनाउनदेखि स्थापनासम्मको काममा गाउँपालिकाले नै सहयोग गर्नेछ ।”

सात वटा वडा रहेको सो गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी संस्था स्थापना गर्न बीउ पूँजीस्वरुप आर्थिक वर्ष २०७६-७७ मा रु पाँच लाख रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सहकारी संस्था स्थापनाका लागि दलित समुदायलाई विधान निर्माण, सहकारी दर्ता, आवश्यक तालीम, व्यवस्थापनलगायतका काममा गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ ।

दलित सहकारी संस्था स्थापनाका लागि विधान तयार पार्ने काम सम्पन्न भइसकेको गाउँपालिका प्रमुख राईले बताए । दलित सहकारी स्थापनाका लागि चार र चार जनाका दरले सात वटै वडाका २८ दलित प्रतिनिधिलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागी दलित प्रतिनिधिले आफ्नो गाउँ फर्किएर सहकारी संस्था स्थापनाका लागि छलफल थाल्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीलाई प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले सहजीकरण गरेका थिए ।

समाबेंसी शीर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट यसअघिसम्म तालीम, गोष्ठी र खाजा नास्तामै खर्च हुँदा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर गाउँपालिकाले दलित सहकारी संस्था स्थापनामा लगानी गर्ने निर्णय गरेको जनाइएको छ । गाउँपालिका प्रमुख राईका अनुसार दलित सहकारीको सञ्चालकदेखि कर्मचारी पनि दलित समुदायकै व्यक्ति हुनेछन् ।

आगामी दशैँ तथा तिहारका बीचमा सहकारी संस्था दर्ताको सम्पूर्ण काम पूरा गरिने गाउँपालिकाले जनाएको छ । बीउ पूँजीका रुपमा विनियोजन गरिएको रु पाँच लाख अपुग भएमा लगानी थप गरिने गाउँपालिका प्रमुख राईले बताएका छन् । 

परम्परागत पेशा सिलाइकटाइ तथा आरन व्यवसाय गर्दै आएका सो गाउँपालिकाका दलित समुदायका लागि गाउँपालिकाले आफ्नै नेतृत्व र स्वामित्वमा सहकारी संस्था स्थापना गरिदिने भएपछि हर्षित भएका छन् । तीन हजार ७५२ घर स्थानीयवासीको बसोबास रहेको सो गाउँपालिकामा ३८० घर दलित परिवार रहेका छन् ।

बालीघरे प्रथाका रुपमा काम गर्दै आएका सो गाउँपालिकाको दलित समुदायका युवापुस्ता पछिल्लो समय वैदेशिक रोजगारीमा समेत जाने गरेका छन् । बचत गर्ने बानीको विकास नहुँदा अधिकांश परिवारका सदस्यले विदेशमा कमाएर पठाएको रकम फजुल खर्चमा सकिने गरेको गाउँपालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ