दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डालाई घर घर पुर्याउन कमल थापाको निर्देशन
प्रकाशित २०७६ असोज ११ शनिबार
552
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई प्रत्येक सर्वसाधारण तथा घर घरसम्म पुर्याउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टीको भातृसंगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ-दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका थिए।
राप्रपाले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरेर कार्य अगाडि बढाइसकेकोले चाडवाडको अवसरमा गाउँ पुगेको समयमा संगठन निर्माण कार्यलाई सँगसँगै अघि बढाउन समेत नेता, कार्यकर्ताहरुलाई अध्यक्ष थापाले आग्रह गरे।
कार्यक्रममा शुभकामना दिदै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हिन्दुहरुको महान चाड बडादशैं तथा दिपावलीको अवसरमा नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापना गर्नेतर्फ दुर्गा भवानीले सबैलाई सद्बुद्धी प्रदान गरुन भनि कामना समेत गरे।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कामनपा कर्मचारी परिषदका अध्यक्ष तथा टुकोनका केन्द्रीय सदस्य उत्तम कुमार घलेले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु लगायत ट्रेड युनियन महासंघ नेपाल (टुकोन) सँग आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।