arrow

गढीमाई मेला सुरु, राष्ट्रपतिबाट टेलिफोन सम्बोधन

logo
मुकेश यादव,
प्रकाशित २०७६ असोज १२ आइतबार
gadimai1.jpg

बारा । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटकीय गन्तव्य स्थलको सूचीमा परेको  गढीमाई मन्दिरको संरक्षण र सम्बर्द्धनको लागि सरकारको पहल कदमी आवश्यक रहेको बताएकी छन् ।

 गढीमाई मेलाको शोभा यात्रालाई टेलिफोन मार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई मन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सरकारको ध्यान पुगने विश्वास व्यक्त गरिन् । गढीमाई आउने दर्शनार्थी, भक्तालुहरुको लागि स्वास्थयसंगको कुरालाई ख्याल गरी सुविधा सम्पन्न भएको अस्पतालको निर्माण तर्फ सरकारको ध्यान आवश्यक रहेको बताइन् । बारा जिल्ला उर्वर भुमि भएकोले किसानहरुको लागि सिंचाईको उचित व्यवस्था सरकारले मिलाउनुपर्नेमा राष्ट्रपति भण्डारीले सरकारको ध्यान केन्द्रित गराइन् ।

शोभा यात्राको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, गढीमार्य मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह, प्रतिनिधि सभा सदस्य रामबाबु यादव, रामसहाय यादव, राज्यसभा सदस्य रमेश यादवले संयुक्त रुपमा उद्दघाटन गरेका थिए । गढीमाई मेलाको आइतबार शोभा यात्रा निकालिएको छ ।

मेलाको पूर्वसन्ध्या घटस्थापनाको अवसर पारेर शोभा यात्रा निकाल्ने चलन रहेको छ । शोभा यात्रामा दर्जनौं, घोडा, हात्ती, स्थानीय चलन चल्तीका बाजा, झाँकी किर्तन हुनेछ । शोभा यात्रामा सहभागी हुनको लागि बाराको विभिन्न गांउबाट हजारौको संख्यामा स्थानीयहरुले सहभागिता जनाएका छन ।

गढीमाई मन्दिर परिसरबाट शुरु भएको शोभा यात्रा महागढीमाई नगरपालिकाको ११ वटै वडा र कलैया सदरकमुकाम पुगेर शोभा यात्रा पुनः गढीमाई मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । मेला भने आउँदो मंसिर देखि लाग्ने भएको छ ।  मेलामा छिमेकी मुलुक भारत र नेपालसँगै लाखौं विदेशी मेला भर्न आउने गरेका छन ।

 यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी गढीमाई मन्दिर आउने कार्यक्रम रहेपनि मौसमको खराबीको कारण अन्तिम समयमा आएर रद्द भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी ब्रहमपुरीमा रहेको नेपाल सेनाको ब्यारेकमा ओर्लिई गढीमाई मन्दिर जाने कार्यक्रम रहेको थियो ।

सुरक्षाको लागि ब्रहमपुरीको सेनाको ब्यारेक देखि कलैया हुंदै बरियारपुरसम्मको सडकको दुबै छेउमा ठुलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सादा पोशाकका सुरक्षाकर्मीहरु परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको थियो । महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको संयुक्त आयोजनामा शोभा यात्रा निकालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ