एआइजी कार्कीको हेर्डक्वाटर सरुवाः ९० करोडको टेण्डरमा अनियमितता देखिएको परिणाम
प्रकाशित २०७६ असोज १३ सोमबार
419
Shares
काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीमा आइजीपी हटाउने खेल चर्चा भइरहँदा प्रहरी प्रधान कार्यालय स्रोतले नयाँ जानकारी दिएको छ। नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) का एआइजी पुस्कर कार्कीलाई सरुवा गरी प्रहरी मुख्यालय ल्याइएपछि यो चर्चाले बजार गर्माएको थियो।
आइजीपी सर्वेन्द्र खनालले नरुचाए पनि प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा उनलाई हेडक्वाटरमा दुई दुई वटा विभाग दिएर सरुवा गरेका समाचार प्रवाह भइरहँदा उनलाई पुरस्कृत गरेर नभइ नसिहत स्वरुप प्रधान कार्यालय ल्याएको प्रहरी प्रधान कार्यालय स्रोतले दावी गरेको हो।
स्रोतले प्रहरी प्रधान कार्यालयकै सिफारिसमा गृहमन्त्रालयको प्रस्तावमा एआइजी सरुवा भएको बताएको दावी गरेको छ। नेपाल प्रहरीले काभ्रेको पनौतीमा सार्न लागेको एकेडेमी निर्माणका लागि करिब ९० करोडको टेण्डरमा एआइजी कार्कीले सबैभन्दा कम दरमा हाल्ने ठेकेदारलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागेको आरोप पछि उनलाई त्यहाँबाट जिम्मेवारी मुक्त गरिएको बताइएको छ।
आइजीपी खनालले सो जानकारी पाएपछि उक्त टेण्डर रद्द गर्न निर्देशन दिएका थिए। उक्त टेण्डर गृहमन्त्री रामबहादुर थापाका पुत्र प्रतिकको योजना अनुसार एआइजी कार्कीले बढी दरमा प्रस्ताव गर्ने कम्पनीलाई दिने तयारी गरेको प्रहरी स्रोतको दावी छ। प्रहरी मुख्यालयले एकेडेमी निर्माणको टेण्डरको सम्बन्धमा प्राविधिक डीआइजी लोकेशचन्द्र सिंहको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।
समितिले एआइजी कार्कीले अनियमित ढंगले ठेक्का दिन लागेको प्रतिवेदन दिएपछि उनलाई एकेडेमीबाट सरुवा गरी प्रहरी मुख्यालयमा ल्याइएको प्रहरी स्रोतको दाबी छ।