arrow

दुई अध्यक्षमा एकले बाघको र अर्कोले सिंहको कुरा गर्नु असामान्य: मिनेन्द्र रिजाल

‘कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोज्यो’

logo
तेजन खड्का,
प्रकाशित २०७६ असोज १६ बिहिबार
minendra3.jpg

उर्लाबारी। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खाजेको बताएका छन्। उर्लाबारी—९ दुर्गापुरीमा आयोजित नेपाली कांग्रेस वडा नम्बर ८ र ९ को दशैं तिहार शुभकामना विशेष कार्यक्रममा बोल्दै नेता रिजालले सो कुरा बताएका हुन् ।

नेता रिजालले वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दावी समेत गरे । नेकपाको अधिनायवादलाई रोक्नको लागि कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा छ । ‘यो सरकारको गृह परीक्षण गर्नुपरेको थियो, त्यही भएर तनहुँमा आक्रमण र अवरोधको बावजुदपनि हामी अगाडि बढ्ने प्रयास गर्यौ । सरकार कम्युनिष्ट पार्टीबाहेक अरु पार्टीले राजनीति गर्नुहुँदैन भनेर हिँडिरहेको छ ।

नेकपाका दुई अध्यक्षहरुमा एउटाले बाघको र अर्कोले सिंहको कुरा गर्नु सामान्य कुरा होईन्। यसलाई गम्भिर रुपमा लिनुपर्छ ।’–उनले भने । त्यस्तै, उनले ज्ञानेन्द्र शाही र रवि लामिछानेको विषयको घट्ना हेर्दा पनि सरकार व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने अवस्थामा पुगेको पनि आरोप लगाए। उनले भने,‘आजको गृह प्रशासन तानाशाही प्रवृत्तिले चल्दैछ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरुले महारानी बनाउनको लागि राष्ट्रपति नबनाएको जिकिर गरे। उनले भने,‘त्यसैले अब भरोसायोग्य कांग्रेस बनाउन सकिएन भने नेकपाको अधिनायकवादलाई हामीले धान्न धौ–धौ पर्नेछ । लोकतान्त्र यही सरकारबाट खतरा छ ।’

उनले प्रधानमन्त्री केपी ओलीले अन्य पार्टीमाथि ‘बाघ झैं झम्टन’ तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘सिंहझै गर्जन’ पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएर कम्युनिष्ट पार्टी बाहेकका अन्य राजनीतिक दलहरुको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र गरिरहेको दावी पनि गरे ।

कांग्रेस नेता रिजालले नागरिकलाई भयभित बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई गतिविधि गर्न नदिने योजना बनाइरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।
 
नेता रिजालले वर्तमान सरकारकै कारण संवैधानिक ब्यवस्था धरापमा परेको आरोप लगाएका छन्। लोकतान्त्रिक विधिअनुसार चुनिएको वर्तमान सरकार कम्युनिष्ट राज्यसत्ता निर्माणमा केन्द्रीत भएको उनको दाबी छ। सबै मिलेर सरकारको प्रतिकार नगर्ने हो भने नेपालबाट संघीय लोकतान्त्रिक ब्यवस्थाको अन्त्य हुने नेता रिजालले स्पष्ट पारे ।

रिजालले गृहमन्त्रालयको नेतृत्व अपराधिक मानसिकताबाट ग्रसित भएको दाबी गरेका हुन्। आफूमाथि भएको आक्रमणप्रति लक्षित गदै उनले सरकारको निर्देशनमा घटना भएको स्पष्ट पारे । नेकपा कार्यकर्ताले गरेको आक्रमणको आफूले शसक्त प्रतिकार गरेको नेता रिजालको भनाई छ ।

रिजालले महरा काण्डको पर्दाफास गर्ने पत्रकार अजयबाबु शिवाकोटीलाई विभिन्न प्रकारले दिइएको धम्कीप्रति आपत्ति प्रकट गरे। उनले प्रेस स्वतन्त्रता विरोधी गतिविधी नगर्न नेकपाका नेता कार्यकरक्ताहरुलाई चेतावनी समेत दिए। 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता खड्ग फागोले कम्युनिष्टको गल्तीमा रमाउनु भन्दा पनि जनताको बिचमा गएर काम गरेर मन जित्न सुझाव दिए। कांग्रेसको निति र विपीको सिद्धान्तलाई पालना गरे कांग्रेसलाई अघि बढ्न मेयर फागाले सुझाएका छन् । कार्यक्रम प्रकाश कन्दङ्वाको सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ