arrow

महराको काउण्टडाउन शुरु

अदालतबाट पक्राउ पूर्जी लिएर आइतबारै हुन सक्छन् पक्राउ

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
krishna-bahadur-mahara-new.jpg.jpeg

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेसँगै महराको पक्राउको काउण्टडाउन शुरु भएको छ। प्रहरीले आइतबार अदालतबाट महराको पक्राउ पूर्जी लिने अन्तिम तयारी गरेको छ।

प्रहरीले आइतबार अदालतमा पक्राउ पूर्जीको लागि फाइल पेश गर्ने भएको छ। पीडित महिलाको किटानी जाहेरीको आधारमा प्रहरीले महरा विरुद्धको फाइल तयार गरिसकेको छ। 

शुक्रबार राति मात्र महराविरुद्ध किटानी जाहेरी परेका कारण केही प्रक्रिया आइतबार कार्यालय खुलेपछि गरी अदालतमा फाइल पेश हुने प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौं जिल्ला अदालतमा पक्राउ पूर्जीको लागि आइतबार मध्यान्हसम्म फाइल पेश गर्ने तयारी गरेको छ। 

पीडित महिलाले प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि शनिबार नै प्रहरीले महरालाई पक्राउको तयारी गरेपनि अदालतबाट पक्राउ पूर्जी लिनुपर्ने कारणले शनिबार पक्राउ सम्भव नभएको हो।  

आइतबार अदालतले दिने आदेशपछि प्रहरीले महरालाई पक्राउ गर्न सक्नेछ। पक्राउका लागि प्रहरीले पेश गरेको फाइललाई सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेर अदालतको आदेश प्राप्त भएपछि महराको पक्राउ सम्भव हुने बताइएको छ। 

पीडित महिलाको किटानी जाहेरीपछि महरालाई पक्राउ गर्ने गृहकार्य अघि बढाउने बिषयमा प्रहरीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री थापाको ग्रिन सिग्नल पाए लगत्तै प्रहरीले फाइल तयार गरी आवश्यक सबै गृहकार्य सकाएको छ।

महरा अहिले पनि बाहिर डेरा नपाएको भन्दै बालुवाटारस्थित सभामुखको सरकारी निवासमै छन्। अदालतबाट आदेश आएमा उनलाई सरकारी निवासबाटै पनि पक्राउ गर्न प्रहरीलाई रोकावट हुने छैन। तर प्रहरी सकेसम्म सभामुख निवासबाट भन्दा वाहिरबाटै उनलाई नियन्त्रणमा लिने तयारीमा छ। सम्भवतः आइतबार महराको परिवार नयाँ निवासमा सर्ने छ। नयाँ निवासमा सरेमा सोही ठाउँबाट पक्राउ गरिने प्रहरी स्रोतको दावी छ। 

गत आइतबार (असोज १२ गते) राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा मार्फत रोशनी शाहीले सोमबार (असोज १३ गते) खुलासा गरेकी थिइन् । लगत्तै मंगलबार (असोज १४ गते) नै विभिन्न दवावमा परी आफूलाई बलात्कार नभएको भन्दै हाम्राकुराका सम्पादकलाई नै सामाजिक सञ्जालबाट आरोपित गरेकी थिइन्। तर पछि उनको सामाजिक सञ्जाल पनि अरु नै व्यक्तिले चलाएको प्रमाणित भएको थियो। 

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो। महरा स्वयंले पनि हाम्राकुरालाई आफू रोशनीको कोठामा गएको बताएका थिए। 

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए। महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ