arrow

जहाँ जहाँ सी जान्छन् त्यहाँ त्यहाँ सडक टालियो, नक्कली पार्क बनाइयो 

प्रश्न हो दीगोपनको, प्रश्न हो भ्रमण वर्ष २०२० सोचको

logo
बाबु नेपाली, 
प्रकाशित २०७६ असोज २२ बुधबार
xi-visit-nepal-devlopment.jpg

काठमाडौं । हामी क्षणिक खुशीमै दंग हुन्छौं । हामीलाई यस्तै बानी परेको छ । किनकि नेपालमा सरकार फेरिइरहने अनि आफ्नो कार्यकालमा जे आइपर्छ त्यही समस्या टार्ने सरकारको बानी छ । 

अहिले त बलियो बहुमतको सरकार छ । जसलाई उसैले नचाहेसम्म कसैले पनि पाँच वर्षसम्म ढाल्न सक्दैन । तर दुई वर्ष हुन लागिसक्यो केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको । अहिलेसम्म यो काम दीर्घकालीन रुपले अगाडि बढिरहेको छ भन्ने छैन । जनताले ढुक्क भएर स्वास फेर्न पाइरहेका छैनन् । 

निर्माणका कामहरु अलपत्र छन् । सडकहरु जताततै खुलेका छन् । तर ती सडकहरु दीगो रुपले मर्मत सम्हार गरिएको हुँदैन । अरु त परै जावस् राजधानी काठमाडौंकै सडकको हालत  देख्दा नै समग्र देशको नक्सा छर्पष्ट हुन्छ । 

तर केही दिन भयो काठमाडौंका केही सडकहरु टालिएका छन् । केही दिनका लागि भए पनि चिल्ला पारिएका छन् । त्यतिमात्र होइन केही खाली स्थानमा पनि फूलका बिरुवा रोपिएका छन् । 

यस्तो लाग्दैछ कि काठमाडौंले आफ्नो पुरानो रुप पाउँदैछ । यो केही दिनका लागि मात्र हो । किनकि चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (असोज २५ गते) काठमाडौं आउँदै छन् । सी का अगाडि इज्जत जोगाउन ओली सरकारले सडक टालेको छ । 

रातारात सडकहरु चिल्लो पारिएका छन् । जहाँ जहाँ सी जान्छन् त्यहाँ त्यहाँ सडक टालिएको छ । नक्कली पार्क निर्माण गरिएको छ । बडादशैं नभनी सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ ।

२३ वर्षको अवधिमा नेपाल भ्रमणमा आउन लागेका सी का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी भएर जाने त्यस्ता सडक र आसपास पर्ने स्थानको मात्र नक्कली रुपमा मुहार फेर्न सरकार लागि परेको हो ।

अर्थात् काठमाडौंका सबै सडकले पनि चिल्लो हुने अवसर पाउने छैनन् । वर्षामासमा परेका खाल्डाका डाम पुरिने छैनन् । सरकार लाज छोपिरहेको छ । गत वर्ष पनि सरकारले यसै गरेको थियो । 

गत वर्ष सम्पन्न बिमस्टेक सम्मेलनका बेला सरकारले जहाँ जहाँ अतिथिहरु जान्छन् त्यहाँ त्यहाँको सडकमा बेइज्जतलाई ढाक्ने काम गरेको थियो । त्यतिबेला हतारमा फ्लेक्सले छोपिएको तीनकुनेको खाली जग्गा अहिले भने हुर्किसकेका रुख रोपेर कृत्रिम बगैंचा बनाइएको छ । रातारात पार्क बनेको छ उक्त स्थल । 

अरु बेला थोत्रा पारेर राखिने ट्राफिक लाइटहरु सी कुँद्ने रुटमा निर्माण गरिएको छ । त्यतिमात्र हैन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक अनुगमन गरेर अर्को नाटक रचेका छन् । 

कतै रंगरोगन गरिएको छ । कतै धुलो बढार्ने काम भइरहेको छ । विमानस्थलदेखि सोल्टीसम्म पर्ने सडकले दशैंका बेलामा नयाँ कपडा लगाउन पाएजस्तै गरी टालिएका छन् । छेउँछाउँमा रंगरोगन गरिएको छ । 

चिनियाँ राष्ट्रपति सीलाई खुशी पार्नका लागि ठाउँमा फ्लेक्स राखिएको छ । त्यसो त विशेष अतिथिहरु आउँदा यसरी नै फ्लेक्स राखिन्थ्यो । त्यो गर्नु पनि पर्छ । सीको स्वागतमा तीन दर्जन स्वागतद्धार बनेका छन् । अतिथि देवो भवः भन्ने त हाम्रो मूल मन्त्र नै छ । राजकीय भ्रमणमा बोलाएपछि सीको स्वागतमा कुनै कमी नगर्नु नेपालीको धर्म हो । सरकारले पनि कुनै कमी गर्नु हुने छैन । 

प्रश्न हो दीगोपनको, प्रश्न हो भ्रमण वर्ष २०२० सोचको   
प्रश्न दीगोपनको हो । जेठमा बजेट ल्याउने तर असारमा असारे बजेट सकाउने नाममा धमाधम बजेट बाँड्ने पुरानै सरकारहरुको जस्तै गरेको यो सरकार पनि बलियो सरकार नभएको स्पष्टै छ । 

बहुमत आयो तर  व्यवहार सपे्रन । काठमाडौंमा गरिएको कृत्रिम प्रगति त्यसकै नमूना हो । तीनकुनेको जग्गामाथि निकै राजनीति भइरहेको छ । त्यसलाई के बनाउने भन्नेबारेमा सरकारले कुनै निर्णय गरेको छैन । 

क्षणिक समयका लागि भन्दै लाखौं रुपैयाँ खर्चिनु कहाँसम्मको भ्रष्ट मानसिकता । मुलुक आफैमा स्वर्ग छ । तर त्यसलाई संरक्षण गर्नुको सट्टा कृत्रिम आइल्याण्ड बनाइएको छ तीनकुनेमा । 

यो आइल्याण्ड केही दिनका लागि मात्र हुनेछ । काठमाडौंका एक दुईवटा रुट सिंगारेर के फाइदा । दीगो रुपमा सबै सडकहरु बनाउने हो भने मात्र अढाई महिनापछि सुरु हुने भ्रमण वर्ष २०२० सफल हुने थियो । 

स्थानीय सरकार भइसकेपछि भ्रमण वर्षलाई सफल बनाउन सबै लाग्नुपर्ने थियो । तर सरकार त्यसमा लागेन । केबल महङ्गा गाडी किन्ने र रंगरोगन गर्दा छिट्टै कमाई गर्न सकिनेतर्फ लागेको छ सरकार । 

भ्रमण वर्षका लागि चीनबाट समेत पनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ । त्यसका लागि सीको नेपाल आगमन सबैभन्दा ठूलो सन्देश हो । राम्रा राम्रा स्थानहरु बनाउन सकेको र सीलाई लैजान सकेको भए त्यसले भ्रमण वर्षलाई अझ बढी बढावा दिने थियो होला । 

यतातर्फ सरकार सफल हुन सकेन । केबल देखावटी रुपले गरिने नक्कली काम टिकाउ हुन्न । सरकार ! अब पनि गम्भीर नहुने हो भने कहिले हुने ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ