arrow

सीको स्वागतमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, कर्मचारीलाई अनिवार्य उपस्थितिको उर्दी 

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
maitighar-mandala-xi.JPG

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह नेपाल आउँँदैछन् । उनको स्वागतको तयारी अहिलेसम्मकै उत्कृष्ट भएको सरकारले दावी गरेको छ । 

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछिन् । दुई दिने नेपालको राजकीय भ्रमणमा आउन लागेका सीलाई राष्ट्रपतिले स्वागत गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थलमै हुनेछन् । 

उनको स्वागतमा कुनै कसर बाँकी नराख्नका लागि प्रधानमन्त्री ओलीले शनिबार बिहान निरीक्षणसमेत गरेका छन् । झण्डै २० घण्टा नेपाली भूमिमा रहने सीका लागि होटल सोल्टी भएर जाने सडकमा सरकारी कर्मचारीहरुलाई स्वागतका लागि अनिवार्य उपस्थितिको उर्दी जारी गरिएको छ । 

शनिबार भए पनि उनीहरुलाई दिउँसो ३ः३० बजे सडकमा अनिवार्य उपस्थितिका लागि उर्दी जारी गरिएको हो । कर्मचारीहरुलाई एयरपोर्टदेखि सोल्टीमोडसम्म विभिन्न स्थानमा छुट्टाछुट्टै डाकिएको छ । 

त्यसैगरी सत्तारुढ दल नेकपाका नेता कार्यकर्तालाई पनि स्वागतका लागि सडकमा भेला हुन निर्देशन गरिएको बताइएको छ । 

चिनियाँ राष्ट्रपति सी अपरान्ह ४ः३० बजे एयर चाइनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । 

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेकाले पनि स्वागत भब्य बनाइएको छ ।

सीको सुरक्षा नेपाली सेना र चिनियाँ सेनासहित चार सुरक्षा तहले दिनेछ । सुरक्षा संवेदनालाई लिएर सडकमा कुनै पनि सवारी साधन गुड्न दिइने छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ