arrow

सीको करिब २० घण्टा नेपाल बसाई, के के हुनेछ ? 

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
RS_KTM_20191010_0D3A3300g_(1).jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह नेपाल आउँँदैछन् । अपरान्ह ४ः३० बजे एयर चाइनाको विमानबाट सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । 

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेकाले पनि उनको आगमनलाई भव्य रुपले स्वागत गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले सीलाई स्वागत गर्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि भण्डारीसंगै विमानस्थलमै हुनेछन् । 

सी काठमाडौंमा अवतरण गरेपछि होटल सोल्टी जानेछन् । त्यहाँ केही क्षणको विश्रामपछि सीसहितको टोली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यतालिका छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्दै कार्यक्रम छ । राष्ट्रपति सीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । 

आइतबार बिहानै सीको टिम र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । 

यही कार्यक्रममै दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो कार्यक्रमपछि सी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

त्यसपछि सी चीन फर्कने कार्यक्रम रहेको छ । उनको ठ्याक्कै नेपाल बसाईको समय तय नभए पनि १९ देखि २० घण्टाको समय बताइएको छ । 

सी आउँदा के के अवरुद्ध ? 
सी आउनुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं अवतरण र फर्किने क्रममा विमानस्थल केही समय बन्द हुने जनाएको छ ।

उक्त नोटिस अनुसार शनिबार दिउँसो २ः५५ बजेदेखि साँझ ५ः२५ बजेसम्म र सी फर्किने क्रममा पनि आइतबार बिहान ११ः२० देखि दिउँसो १ः५० सम्म विमानस्थल बन्द हुने छ । 

यस अवधिमा विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन् । उड्डयन कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिका समेत सार्वजनिक गरेको छ । 

सडकमा पनि अवरुद्ध 
नेपाल प्रहरीले शुक्रबार नै सूचना जारी गरी रिङरोड भित्र ठूला गाडी नचलाउन भनेको छ । त्यसैगरी महानगरिय ट्राफिक प्रहरी महाशाखाले सी आउने समयभन्दा केही समयअघि र आइसकेपछि उक्त रुटमा सवारी नचल्ने जनाएको छ । 

सी यदि ४ः३० मा त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् भने सोही अनुसार रिङरोडमा विशेषगरी गौशालादेखि नै सवारी चल्ने छैनन् । अनि सोल्टी होटलको रुटमा कुनै पनि गाडी गुड्ने छैनन् । 

 प्रहरीले सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिने जनाएको छ । सडकका दुवै किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइने छ ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएकाले उक्त दिन सार्वजनिक यातायात नचलाउन पनि आग्रह गरिएको छ । अन्य क्षेत्रमा भने फरक नपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

आइतबार बिहानदेखि दिउँसो २ बजेसम्म नै ट्राफिक समस्या हुनेछ । सरकारले आइतबार सार्वजनिक बिदा नै दिएको छ भने शनिबार परेकाले उक्त दिन बिदा नदिएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ