चिनियाँ राष्ट्रपति नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान
प्रकाशित २०७६ असोज २६ आइतबार
294
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् ।
राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेकी छिन् । राष्ट्रपति भण्डारीले चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यलाई बिदाइ अभिवादन गरेकी छिन् । यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरे।
चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो ।