arrow

मन्त्रीपत्नीद्वारा घुस असुल्दै सडकका सरुवा

अख्तियार र महालेखाले डामेकालाई छानी छानी आकर्षक ठाउँमा

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
raghubir-mahaseth-juli-mahato.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको दुई तिहाई सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुब्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ र ऊर्जा जस्ता विकासे मन्त्रालयमा भ्रष्टाचारले सीमा नै नाघेको छ । 

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले सडकका सरुवामा बदनाम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा घुससहित रंगेहात पक्राउ परेकाहरुलाई अरबौं रुपैयाँ बजेट भएका सडक आयोजनामा सरुवा गरेका छन् । 

अहिले मन्त्री महासेठले पत्नी जुलीकुमारी महतोमार्फत् घुस असुली गर्दै सरुवा गर्ने गरेको टिप्पणी उनकै मन्त्रालयमा हुन थालेको छ। उनकी पत्नी जुलीकुमारी पनि सांसद हुन् । एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोकी बहिनी जुलीले सडकका सरुवामात्र होइन ठेक्कापट्टामा पनि हस्तक्षेप गर्दै आएकी छन् । 

अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर नगरी गुपचुप उन्मुक्ति दिइएका डीई ललितजंग खनाललाई मदन भण्डारी मध्य पहाडी लोकमार्ग आयोजनाको पूर्वी खण्डको प्रमुखमा सरुवा गरिएको छ । 

उनलाई काठमाडौं डिभिजन सडकको इञ्जिनियर हुँदा घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । तर तत्कालीन डिभिजन प्रमुख गोपालबहादुर खड्काले तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई प्रभावमा पारी उनका बिरुद्ध मुद्दा नै दायर हुनबाट रोकेका थिए । 

उनी मन्त्री महासेठपत्नी जुलीकुमारी महतोलाई घुस बुझाएर गएको स्रोत बताउँछ । जसको समन्वय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले गरेको मन्त्रालयकै अधिकारी बताउँछन् ।

मन्त्री महासेठले सिंचाई मन्त्री हुँदा ज्ञवालीलाई निजी सचिव राखेका थिए । भौतिक पूर्वाधार मन्त्री भएपछि पनि उनले रोजेर ज्ञवालीलाई मन्त्रालयको कर्मचारी प्रशासनमा ल्याएका छन् । र, तिनै ज्ञवालीले मन्त्रीपत्नी जुलीकुमारीसँग मिलेर घुस संकलन गर्दै आकर्षक आयोजनामा डीई र इन्जीनीयर सरुवा गर्दैआएको स्रोतको दावी छ ।  

मदन भण्डारी मध्य पहाडी आयोजनाको प्रमुखमा ज्ञवाली बिचौलिया बनी ८० लाख रुपैयाँ मन्त्रीपत्नी जुलीलाई बुझाएर सरुवा गराएको चर्चा सडकका डीईहरुबीच हुने गरेको छ । 

धरान–चतरा–गाईघाट–हेटौंडा सडक मदन भण्डारी मध्य पहाडी रोकमार्ग अन्तर्गत पर्दछ । खनाल डीई भएपछि बैतडीमा सरुवा भएका थिए । बैतडीको प्रमुख हुँदा खनालले एक स्थानमा निर्माण कार्य गर्नेगरी सम्झौता गरी अर्कै स्थानमा निर्माण गरेको सडकको भुक्तानी दिएकाले उनलाई कारबाही गर्नुपर्ने प्रतिवेदन महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले दिएको छ । 

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ –‘डिभिजन सडक कार्यालय बैतडीले एक स्थानमा निर्माण कार्य गर्नेगरी सम्झौता भएकोमा  निर्माण ब्यवसायीले अन्य स्थानमा ६ आइटमको काम गरेको देखाई रु ४ करोड ६ लाख १५ हजार रुपैयाँ भुक्तानी दिएकोमा भेरिएसन आदेश जारी भएको छैन । तोकिएको काम नगरी भुक्तानी गर्नेलाई जिम्मेवार बनाउनुपर्छ ।’

यसैगरी बिहानैदेखि मदिरामा मस्त हुने डीई राजेश पौडेललाई मदन भण्डारी मध्य पहाडी लोकमार्ग आयोजना पश्चिम खण्डमा सरुवा गरिएको छ । मदन भण्डारी आयोजना १२ अर्ब रुपैयाँको हो । 

खनाललाई लामा कन्ष्ट्रक्सनले लगानी गरेको बुझिएको छ भने पौडेललाई कालिका कन्ष्ट्रक्सनले मन्त्रीपत्नीलाई घुस बुझाएर लगेको हो । खनाललाई मदन भण्डारी पूर्वी खण्डमा लान लामा कन्ष्ट्रक्सनका पिताम्बर बडुले नै मन्त्रीपत्नी जुलीलाई घुस बुझाएपछि उनको सरुवा भएको थियो । भौतिक मन्त्रालयका एक अधिकारी भन्छन्–‘ठेकेदारले आयोजना प्रमुखको सरुवा गरेपछि सडकको गुणस्तर कस्तो होला ?’

उता रुपन्देहीमा २ बर्ष बस्दा ३ अर्ब रुपैयाँको सडक निर्माणको क्रममा अनिययमितता गरेका डीई मेघराज मरासिनीलाई १ बर्षपछि पुनः रुपन्देहीमै पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ